• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमित हुनेमा काठमाडौंमा १ हजार ११३, ललितपुरमा १९५ र भक्तपुरमा ४९ रहेका छन् । यीमध्ये ५६९ महिला र ७८८ पुरुष छन् ।

    त्यसैगरी देशभरबाट शनिबारमात्र २ हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिएको विवरण अनुसार यस अवधिमा ९ हजार २७९ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । त्यस्तै २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

    यस अवधिमा विभिन्न जिल्लामा गरी थप १७ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ । मन्त्रालयका अनुसार बाँकी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ पुगेको छ ।