• काठमाडौं । विगत २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा विभिन्न प्रयोगशालामा १३ हजार ८६१ वटा नमुना परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँग अब नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

    आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १ हजार ७०२ जना रहेका छन् । यीमध्ये काठमाडौंका १ हजार ४३१, ललितपुरका १२३ र भक्तपुरमा १४८ जना रहेको सो अवसरमा प्रवक्ता गौतमले जानकारी दिए ।

    त्यसैगरी अहिले सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ५५९ र २८ हजार १९६ होम आइसोलेसनमा छन् । २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनको संख्या ७६५ पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।

    यस अवधिमा २ हजार १०८ जनाले कोरोनामुक्त भएका छन् । यीसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् ।