• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा नेपालमा ३ हजार १६७ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेट अन्तर्गत शनिबारको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको बताए । उनका अनुसार यस अवधिमा १५ हजार ५३१ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् ।

    प्रवक्ता डा. गौतमका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र १७ सय ४६ जना रहेका छन् । जसमा काठमाडौंका १४ सय ५१, ललितपुरका १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो । त्यसैगरी अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिए । तीमध्ये संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

    २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ । मन्त्रालयका अनुसार यसैअवधिमा १ हजार ८०० जना कोरोनामुक्ता भएर डिस्चार्ज भएका छन् । यसरी निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ । त्यस्तै क्वारेन्टाइनमा चार हजार ७१५ जना छन् ।