• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ उपत्यकामा विगत २४ घण्टामा २ हजार ४०२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौँका १ हजार ७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयले शुक्रबार आयोजना गरेको कोभिड–१९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकासहित देशभरबाट ४ हजार ३९२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । उनका अनुसार नेपालका अहिलेसम्म कोराना संक्रमितको कुल संख्या संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । यीमध्ये हालसम्म ८८ हजार ४० जना कोरोना मुक्त भएका छन् भने ७ सय १५ जनाको कोरोनाबाट ज्यान गएको छ । २४ घण्टाको अवधिमा थप २१ जनाको संक्रमणबाट ज्यान गएको छ ।

    त्यसगरी हाल सक्रिय संक्रमितको संख्या देशभर ३७ हजार ३८२ जना रहेको मन्त्रालयले बताएको छ । यीमध्ये संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना छन् । त्यसैगरी क्वारेन्टाइनमा ४ हजार ४०८ जना छन् ।