• काठाडौं । देशका अन्य भागमा पनि प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । अहिलेसम्म २०६ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४५ प्रहरीलाई संक्रमण भएको छ । स्याङ्जामा त प्रहरीसहित ६५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । अग्रपंक्तिमा खटिने प्रहरी संक्रमणको बढी जोखिममा पनि छन् ।

    प्रहरी मुख्यालयको सवारी शाखामा कार्यरत एक हवल्दार दुई साताअघि बाढी पहिरोमा घर परेपछि सिन्धुपाल्चोक गएका थिए । कार्यालय फर्किएपछि उनमा ज्वरो देखियो । साउन ८ गते परीक्षण गर्दा संक्रमण पुष्टि भयो । उनी कार्यरत शाखालाई सिल गरियो र सम्पर्कमा आएकाहरुको परीक्षण थालियो । भोलिपल्ट त्यही शाखाका थप तीन जनामा भाइरस भेटिएपछि मुख्यालयमा महामारी फैलिएको पुष्टि भयो । मुख्यालयको सञ्चार, सुरक्षा गार्ड शाखा र सामूहिक भान्सामा समेत संक्रमित देखिइसकेका छन् ।

    मुलुकभरको शान्ति सुरक्षाको जिम्मा लिएको मुख्य सुरक्षा अंग नेपाल प्रहरीकै मुख्यालयभित्र भाइरस फैलिएपछि स्वास्थ्य सुरक्षा सतर्कता उच्च तुल्याइएको छ । बाह्य व्यक्तिको प्रवेशमा रोक लगाइएको छ । एक विभागबाट अर्को विभाग आवतजावतमा कडाइ गरिएको छ । संक्रमित फेला परेका एमटी र सञ्चार शाखासँग अन्यको सम्पर्क तोडिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेका छन् ।