• ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–९ मा स्थायी बसोबास भएका महेश खड्का नेपाली काँग्रेसको सक्रिय राजनीतिमा संलग्न छन् । २०३६ को आसपासतिर पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामा के के फरक छ भन्ने विषयमा कुराकानी हुन्थ्यो, त्यतिबेला नै महेशको मनमा नेपाली काँग्रेस र वीपी कोइरालाको दरिलो छाप छोडे । प्रवेशिका उत्तीर्णपछि पाटन क्याम्पस पढ्दा त महेश सक्रिय राजनीतिमा नै आइसकेका थिए । नेपाली काँग्रेसको नेतृत्वमा भएको सत्याग्रहमा युवा महेशको सक्रिय सहभागिता थियो । त्यस्तै २०४५/०४६ को जनआन्दोलनमा पनि महेश सक्रिय भएर लागे । त्यसपछि पनि निरन्तर नेपाली काँग्रेसको राजनीतिमा संलग्न महेश खड्का जनआन्दोलन २०६२/०६३ मा त अग्रमोर्चामा नै खटेका थिए । महेश अहिले नेपाली काँग्रेसको क्षेत्रीय सभापति हुन् । यति मात्र होइन, महेश खड्काको निरन्तर राजनीतिमा संलग्नता, इमानदारीता, निष्ठा, त्याग र समर्पणलाई हेरेर नेपाली काँग्रेसले ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा अध्यक्ष पदको उम्मेदवार हुन टिकट दियो । नेपाली काँग्रेसको संगठन कमजोर भएर होइन, कि लामो समयको अन्तरालमा भएको निर्वाचन र नेपाली काँग्रेसका कार्यकर्तामा ठूलो महत्वाकांक्षा पैदा भएका कारण र उम्मेदवारको विषयलाई लिएर जिल्ला कोषाध्यक्षले पार्टी नै छोडेका कारण र आफ्नै पार्टीको विद्रोही उम्मेदवार खडा भई महेशलाई निर्वाचनमा हराउन लाग्दा पनि झिनो मतको अन्तरले खड्काले निर्वाचनमा पराजय बेहोर्नुप¥यो । निर्वाचनमा पराजय नै भए पनि खड्का राजनीति र समाजसेवाबाट कहिल्यै पछाडि हटेका छैनन् । निर्वाचन हो विजय–पराजय स्वभाविक प्रक्रिया हो भन्ने खड्का यतिबेला महालक्ष्मी–९ मा कोरोना महामारीबाट बच्न अपाउनुपर्ने सजगता, क्वारेन्टाइन निर्माण र राहतका कामहरु कसरी भइरहेका छन् त्यसैमा सक्रिय छन् । प्रस्तुत छ महेश खड्कासँग जनप्रशासन संवाददाताले गरेको कुराकानीः

    महालक्ष्मी–९ मा कोरानाको अवस्था र तयारीका लागि कस्तो सजगता अपनाइएको छ ?
    हालसम्म महालक्ष्मी–९ मा कोरानोका बिरामीहरु फेला परेका छैनन् । पछिल्लो समयमा लकडाउन खुकुलो भएका कारण बाहिरबाट केही साथीहरु यता आएका र उनीहरुमध्ये एकजनालाई शंका लागेको हुनाले हामीले हाम्रै नेतृत्वमा निर्माण गरेको १० बेडको क्वारेन्टाइनमा उहाँलाई राख्यौं र १४ दिन राखेर उहाँको पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि यहाँबाट बिदा ग¥यौं । हाम्रो महालक्ष्मीकै कुरा गर्नुहुन्छ भने शंखदेवी र विसनडोलका साथीहरुले पनि आफ्नै पहलमा क्वारेन्टाइन बनाउनुभएको छ, अन्य कतिपय वडामा क्वारेन्टाइन पनि बनिसकेको अवस्था छैन ।

    क्वारेन्टाइन कस्ता छन् नि ?
    क्वारेन्टाइन सबै ठीक छन् । हामीले स्कुलहरुमा क्वारेन्टाइन बनाएका हौं । त्यसैले अत्यन्त सहज भएर बनाएका छौं । बिरामीहरु छैनन्, तर भवितव्य परिहाल्यो भने हामी तयारी अवस्थामा छौं ।

    बिरामी बोक्ने एम्बुलेन्स, क्वारेन्टाइन निर्माण आदिमा नगरपालिका कत्तिको सक्रिय छ नि ?
    महालक्ष्मी नगरपालिकासँग न एम्बुलेन्स छ न त शववाहन नै छ । जति एम्बुलेन्स छन् ती पनि बिग्रिएर रहेको अवस्थामा छन् । स्थानीय युवा साथीहरुले एम्बुलेन्सहरु इमाडोलमा चलाउनुभएको छ नत्र भने नगरपालिकाले एम्बुलेन्स किनेको पनि छैन र त्यसरी तयारी अवस्थामा कुनै प्रक्रियाबाट राखेको पनि छैन । अब समुदायस्तरमा चलेका एम्बुलेन्सलाई समुदायले नै पीपीई दिने बीमा गरिदिने व्यवस्थाहरु गरेको छ, तर नगरपालिका स्वयम्ले हालसम्म त्यस्तो केही पनि गरेको अवस्था छैन । नगरपालिका तयारी अवस्थामा रहनुप¥यो भन्ने आवाज हामीले उठाएका छौं तर उहाँहरुको मनसाय के हो कुन्नि ! बुझ्न सकिएको छैन ।

    लामो लकडाउनका कारण जनताको स्थिति कस्तो छ ?
    महालक्ष्मी नगरपालिकाको वडा नं. ९, ८ र ५ अलिक बढी दलित साथीहरुको वस्ती भएको वडा हो । यतिबेला सबैले कामकाज गर्न नपाएको अवस्था हो । त्यसमा दलित साथीहरुको पनि कामकाज गुमेको छ । त्यसैले नगरपालिकाले श्रम बैंकमार्पmत् बाटो खन्ने, कुलो खन्ने कामहरु गरेको छ र यसमा संलग्न हुनेहरुलाई राहतको व्यवस्था पनि गरेको छ । अब कतिपय साथीहरुको त आफ्नो पेसा व्यवसायभन्दा बाहिर गएर अर्को व्यवसाय अपनाउन सक्ने अवस्था पनि छैन । त्यसैले, साँच्चै मारमा परेका जनताको लागि केही राहतको व्यवस्था गरौं भनेर मैले आवाज उठाएको थिएँ तर श्रममा जोडिनेबाहेक अरुलाई राहत नदिने भन्ने निर्णय नगरपालिकाले गर्‍यो ।

    दलित वस्तीमा राहत पुगेकै छैन त ?
    होइन, यसो एक पटक वडाले १० केजी ५ केजीसम्म त पुयाएको हो । वडामा विपत् व्यवस्थापन समिति स्थापना गरेर, सबै पार्टीका साथीहरुलाई सेमेटेर जसलाई राहत आवश्यक छ तिनीहरुको नाम संकलन गरेर वडाले एक पटक त राहत वितरण गर्‍यो । तर कतिपय वडामा यो सम्भावना पनि देखिएन । जस्तो हाम्रो वडा नं. ९ मा राम्रै भएको छ । तर सबै वडामा त्यो हुन सकेन । आफ्नो पहुँचको भरमा, आफ्नो पार्टीलाई सहयोग गर्नेहरुलाई छानीछानी राहत दिने काम पनि कुनै कुनै वडामा भएको छ ।

    महालक्ष्मी–९ मा वडाअध्यक्ष्यले कस्तो गरिरहनुभएको छ नि ?
    महालक्ष्मी–९ मा वाशु शर्मा गौतम वडाअध्यक्ष हुनुहुन्छ । उहाँले सबै राजनीतिक दलका साथीहरुलाई समेटेर र उहाँहरुको रायसल्लाह लिएर नै काम गर्नुभएको छ । यस्तो काम महालक्ष्मी नगरपालिकाको सबै वडामा हुन सकिरहेको छैन ।

    महालक्ष्मी–९ ले कस्तो क्वारेन्टाइन बनाएको छ नि ?
    यो छैन, महालक्ष्मी–९ आफैंले अहिलेसम्म क्वारेन्टाइन पनि बनाउन सकेको छैन । यहाँका कतिपय मानिस जो जहाजबाट आउँछन् तिनीहरुको त घरमै क्वारेन्टाइन बनाएर बस्न सक्ने अवस्था होला तर जो भारतबाट आउनुभएको छ, त्यस्ता साथीहरुको घरमै क्वारेन्टाइन बनाएर बस्न सक्ने अवस्था छैन । उहाँहरुलाई क्वारेन्टाइन चाहिन्छ भनेर यस विषयमा हामीले नगरपालिकामा आवाज त उठाएका छौं, तर नगरपालिकाले त्यसरी बनाइसकेको अवस्था छैन ।

    सरकारले राति १० देखि बिहान ५ बजेसम्म पैदल हिँड्न नपाइने भन्ने निर्णय गरेको थियो । त्यो कत्तिको कार्यान्वयन भएको छ यहाँ ?
    त्यो सम्भव नै छैन । त्यो घोषणा गर्ने हो भने राहतको प्याकेजसहितको घोषणा गर्नुपर्छ । सरकारी कर्मचारीको त मासिक तलब आउला र सरकारले घोषणा गरेको नीतिलाई पूर्णरुपमा पालना गर्न सक्ने अवस्था होला, तर आम सर्वसाधारणले त्यो कसरी पालना गर्न सक्छन् र ? जसले दैनिक रोजीरोटीको लागि दैनिक काम नगरी हुँदैन त्यस्तो अवस्थामा मानिसले कसरी खाला ? प्राइभेट सेक्टरमा काम गर्ने या मजदुरी गर्नेहरुलाई त सरकारले केही व्यवस्था गरेको छैन । रोगभन्दा भोक ठूलो भन्ने अवस्था त सर्वसाधारणको कायमै छ त । त्यसैले सरकारले राहतको प्याकेजसहितको लकडाउन भने त सर्वसाधारणले पालना गर्न सक्लान् राहत प्याकेज नहुँदा त्यो सम्भव छैन ।

    सरकारले कोरानाका सम्बन्धमा गरेका कामहरु कतिको चित्तबुझ्दो छ नि ?
    सरकारले लकडाउन भनेर निर्णय ग¥यो नि त्यो समयमा हामीकहाँ खासै कोरोना संक्रमण थिएन । त्यसपछि पनि पहिला हवाई यातायात बन्द गरेपछि सरकारको ध्यान सीमानामा केन्द्रित हुनुपथ्र्यो । कमजोरी त्यही भयो । सीमानाकामा निगरानी गर्न नसक्दा स्थिति भयावह भयो । महामारीको समय हो उता पनि काम नभएपछि मान्छे आउने त भैहाले तर, उनीहरुलाई सीमानामा नै क्वारेन्टाइनमा राख्ने या कुन प्रदेशको हो त्यही प्रदेशको लागि जिम्मा लगाउन सकेको भए स्थिति सहजतातर्फ उन्मुख हुन्थ्यो । त्यस्तो हुन नसक्ता स्थिति भयावह भएको हो । उता सरकारका मन्त्रीहरु पनि यसैलाई कमाउने मौका बनाउने दाउमा लागे । जनताको राहतमा सरकारको ध्यान गएन । यता स्थानीय निकायले पनि खासै राहतको प्याकेज पनि ल्याउन सकेन र त्यसलाई व्यवस्थापन पनि गर्न सकेन । अहिले त न्युन आय हुने वर्गको मानिसलाई मात्र होइन मध्यमवर्ग पनि आहतमा परिसक्यो । ससाना उद्योग गर्नेहरुलाई सरकारले कर छुट, विद्युत् छुट गर्दै र सामाजिक मर्यादा कायम गर्दै काममा लाग्न प्रेरित गर्नुपथ्र्यो, त्यसो नगर्दा हाम्रो यो महालक्ष्मीका सुती कपडा उद्योगहरुलगायतका अन्य उद्योगहरु पनि धरासायी भएका छन् ।

    महालक्ष्मी नगरपालिकाका जनतालाई के भन्नुहुन्छ ?
    महालक्ष्मी नगरपालिकामा भएका राजनीतिक दलहरु, नगरसभा हामी सबै भएर कोरोनाको विषयमा एक पटक नगरपालिकामा भन्न जान्छौं । यहाँका जनताले पनि स्थानीय आवाज बुलन्द गर्नुप¥यो । अब अहिले त सबै खुला पनि हुँदैछ र कोरोनाको संख्या पनि बढिरहेको छ । यो अवस्थामा हामी आफैं सचेत र सतर्क हुँदै आफू बाँच्नलाई कामकाज गर्नैपर्छ । यो विषम परिस्थितिमा हामी आफू जोगिएर काम गरौं, महालक्ष्मी नगरपालिकाका जनतालाई म यही भन्न चाहन्छु ।

    अलिकति प्रसंग बदलौं, यो नागरिकता विधेयकको विषयमा नेपाली काँग्रेसको धारणा के हो ?
    यो विदेशी नागरिक नेपालमा स्थायी रुपमा बसोबास गरेमा सात वर्षपछि नागरिकता दिने भन्ने विषयमा नेपाली कांग्रेसको चित्त नबुझेको भन्ने मैले बुझेको छु । यसमा मलाई चाहिँ के लाग्छ भने अंगीकृत नागरिकता लिएको व्यक्तिलाई देशको प्रमुख राजनीतिक पदमा भने ल्याउनु हुँदैन । अहिले नै देखियो नि संसद्मा सरिता गिरीको अलावा वंशजको आधारमा नागरिकता लिएको व्यक्ति पुगेको भए त्यस्तो अवस्था हुन्थ्यो त ? हुने थिएन । भारतमै पनि त सोनिया गान्धीले राजनीतिको सर्वोच्च पद लिइनन् नि ।

    एमसीसीको बारेमाचाहिँ के भन्नुहुन्छ नि ?
    यो नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुरले गरेको समझदारीमा अहिलेका परराष्ट्रमन्त्रीले अन्य कुनै राष्ट्रघाती विषयहरु घुसाएका छन् भन्ने कुराहरु सुन्नमा आएको छ । त्यसलाई बाहिर ल्याउनुपर्छ र व्यापक छलफलपछि एमसीसीलाई हाम्रो देशको हित हुने गरी पास गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ ।