• काठमाडौँ । प्रहरीको युनिफर्म छुटेपछि गएको शक्तिलाई पुनः प्राप्त गर्ने र रकम कमाउन पूर्वप्रहरीका अधिकारीहरु अख्यिारमा जान नेताको घरदैलो चहार्न थालेका छन् । हालसम्म प्रहरीबाट इन्द्रबहादुर शेरचन र केशव बराल अख्तियारमा नियुक्त भएको ईतिहास छ । हाल अख्तियारमा दुई जना आयुक्तखाली छ ।

    प्रमुख आयुक्तमा पूर्वसचिव प्रेम राईको नाम चर्चामा छ । तर, चरम जातीबादी रहेका राईलाई नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधबकुमार नेपाललगायतले नियुक्त गर्न नहुने दवाव दिएको बुझिन्छ । गृहसचिव हुँदा प्रहरीमासमेत राई,लिम्वू तथा जनजातीप्रतिमात्र मोह देखाएका उजुरी प्रधानमन्त्री केपी ओलीसमक्ष पुगेको छ । प्रधानमन्त्रीले यस बारेमा राईलाई सोधपूछ समेत गरेको बालुवाटारस्रोतले जानकारी दियो । आफूले बिगतमा त्यसो गरेको भएपनि अव त्यस्तो नगर्ने बचनबद्धता राईले गरेका छन् ।

    अर्को आयुक्त पदमा अवकाशप्राप्त प्रहरीहरू जोडतोडका साथ लागिरहेको चर्चा बाहिर आइरहेको छ । प्राप्त जानकारी अनुसार यस दौडमा सबैभन्दा पहिलो नाम आएको छ– पूर्वएआइजीपी जयबहादुर चन्दको ।

    चन्दलाई यसअघि पनि काँग्रेसको कोटाबाट अख्तियारको आयुक्त बनाउन शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रस्ताव गरेका तर प्रधानमन्त्रीले यो प्रस्ताव स्वीकार नगरेको चर्चा बाहिर आएको थियो । चन्दलाई प्रधानमन्त्री नजिककाले देउवाले आइजीपी बनाउँदा लिएको आर्थिक सहयोगको बदलामा यो पद दिलाउन खोजिएको हो र उनलाई आयुक्त बनाउँदा आफ्नो लगानी उठाउन उनले नै त्यहाँको अधिकार दुरूपयोग गर्नेछन् भनी सुनाइरहेका छन् । दोश्रो चर्चामा आएका पात्र हुन्, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल ।

    अर्याल प्रहरी महानिरीक्षक हुँदा आफै्ं अख्तियारमा अनुसन्धानमा परेका र उनको केश पेन्डिङ राखिएको थियो । उपेन्द्र अर्यालका विरोधीहरूले उनी उपेन्द्र महतो र छिमेकी देशको सहयोगमा ठूलो धनराशी खर्च गरी त्यो पद हत्याउने प्रयासमा छन् भनी आरोप लगाइरहेका छन् । अर्याललाई पनि अख्तियारको आयुक्त हुन सजिलो देखिँदैन । तेस्रो प्रहरीबाट आयुक्त हुन प्रयास गर्नेमा पूर्वआइजीपी सर्वेन्द्र खनालको नाम पनि बाहिर आएको थियो । उनी पनि यो पदको लागि मोटो रकम तिर्न तयार रहेको चर्चा बाहिर आएको छ । हालै भएको संसद् अपहरण काण्डले उनलाई पनि ज्यादै विवादमा ल्याइसकेकोले उनको आयुक्त बन्ने सपना सजिलो देखिँदैन । चौथो, यस पदमा कोसिस गरिरहेकामा पूर्वएआइजी पुष्कर कार्कीको पनि नाम आएको छ । उनी पनि राष्ट्रपतिको सहयोग लिई आयुक्त हुने दाउमा रहेको चर्चा बाहिर आए पनि उनको सम्भावना न्यून देखिन्छ किनकी प्रमुख आयुक्त एमालेले पाउने बित्तिकै आयुक्त काँग्रेसी भागमा जाने देखिन्छ र काँग्रेसबाट कार्कीको नाम प्रस्ताव हुने कुनै सम्भावना देखिँदैन ।

    यसबाहेक पूर्वएआइजी राजेन्द्र भण्डारी र सुरेन्द्र शाहले पनि त्यस पदमा जाने इच्छा गरे पनि भण्डारी आफै अख्तियारको अनुसन्धानमा परिसकेका र सुरेन्द्र शाहलाई जनार्दन शर्माको मात्र बलले पुग्ने नदेखिएकोले सम्भावना बहुतै कम देखिन्छ । त्यसैगरी पूर्वएआइजी विजयराज भट्ट र केशरीराज घिमिरेको नाम पनि चर्चामा छ । यी दुवै जना नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकको सम्बन्ध भएका र उनै दाहालको कृपामा बन्न सक्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री नजिकको स्रोतले दिएको जानकारी अनुसार प्रहरीहरूप्रति प्रधानमन्त्रीकै असल धारणा नभएका कारण ओली पुलिसका अफिसरहरूलाई आयुक्त बनाउने पक्षमा हुनुहुन्न । हाल सुनिएको चर्चाअनुसार प्रहरीबाट कुनै अफिसर आयुक्त भएमा माथि उल्लेख गरिएका नामभन्दा बाहिरका अफिसर आयुक्त बन्न सक्ने र यस्ता नाममा पूर्वएआइजी केदार साउदको पनि नाम चर्चामा आएको छ । उनी पूर्वसांसद एनपी साउदका दाजु हुन् ।

    झापा घर भएका एआइजी नवराज ढकाल र भीष्म प्रसाइँ पनि सम्भावित नाममा आएको सुनिन्छ । आयुक्तको पदपूर्ति नभएसम्म प्रहरी अधिकृतहरू प्रशस्त दौडधूप गरे पनि प्रहरी अधिकृतबाट अख्तियारको आयुक्त हुने सम्भावना एकदमै कम देखिन्छ । यदि प्रहरी अधिकृतबाट कोही आयुक्त भएमा बाहिर चर्चामा नआएका अधिकृत आयुक्त हुने पर्याप्त सम्भावना रहेको छ ।

    तस्वीर नेपालफेस