• काठमाडौँ । सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा गरिने खर्च कटौती गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने बताएका छन् ।

    उनले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने बताउँदै कर्मचारीलाई एक लाखको कोभिड बीमाको प्रावधान बजेटमा समावेश गरिएको जानकारी दिए ।

    कोभिड–१९ को महामारीका कारण उत्पन्न असामान्य अवस्थामा सार्वजनिक भएको आगामी आवको बजेटमा परिस्थितिजन्य प्राथमिकता र आवश्यकतालाई दृष्टिगत गरी तर्जुमा गरिएका कार्यक्रमलाई रकम विनियोजन गरिएको छ भने पर्याप्त स्रोत जुट्ने स्थिति नरहेकाले तलबभत्तालगायत सुविधा वृद्धिको व्यवस्था यो वर्ष हुन नसकेको अर्थमन्त्री खतिवडाले बताएका छन् ।