• लहान । कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका २१ कैदीबन्दीलाई छाडेको सिरहा कारागारका जेलर बबिता महतोले जानकारी दिएका छन् ।

    कोरोनाको सम्भावित जोखिमका कारण अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयवापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीबाट रकम तिराएर छाडिएको हो ।

    कूल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिलासहित ५५१ कैदीबन्दी छन् । एक जनामा सङ्क्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई विगत एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिएको र कोरोना भाइरस सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराइरहेको जेलर महतोको भनाइ छ ।