• काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका संस्थानहरुले नेतृत्व पाएका छन् । कृषि अन्तर्गतका अधिकांश संस्थानहरु लामो समयदेखि निमित्तका भरमा चल्दैआएका थिए ।

    निमित्त प्रमुखले दैनिक प्रशासनिक बाहेक अरु काम गर्न नसक्ने भएकाले मन्त्रालयले प्रतिस्पर्धाका आधारमा सिफारिस गरेपछि मन्त्रिपरिषदले संस्थानहरुमा रिक्त कार्यकारी निर्देशक, महाप्रबन्धक र अध्यक्ष नियुक्त गरेको छ । २०७६ फागुन १८ को मन्त्रिपरिषदले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल र राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा। राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

    त्यसैगरी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा गोपालप्रसाद पोखरेल र कार्यकारी निर्देशकमा डा। विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

    कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्षमा शशीराज तुलाधर र महाप्रबन्धकमा नेत्रबहादुर भण्डारीलाई नियुक्त गरेको छ । कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन् ।

    यसअघिका कृषि मन्त्री चक्रपाणि खनालको कार्यकालमा यी चारै संस्थान र बोर्डमा प्रमुख नियुक्ति हुन सकेको थिएन । घनश्याम भूसाल कृषि मन्त्रीमा नियुक्त हुनासाथ मन्त्रालय अन्तर्गतका संस्थान, बोर्ड, परिषदहरुमा रिक्त पदमा नियुक्ति गर्ने प्रक्रिया सुरु गरेका थिए ।