• काठमाडौं । हालै बढुवा भएका ३७ जना सहसचिवको पदस्थापना तथा सरुवा भएको छ ।

    सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेलाई प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका भरतमणि सुवेदीलाई प्रदेश ५ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

    अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख घिमिरे अन्तर्राष्ट्रिय आर्थिक सहायता महाखाको प्रमुख हुने चर्चामा थिए । तर उनलाई प्रदेश २ मा धकेलिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखामा लामो समय कार्यरत भरतमणि सुवेदी दाङकै भएको र मुख्यमन्त्री शंकर पोखरेलसँग निकट भएकाले उनलाई ५ नम्बर प्रदेशमा लगिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई विराटनगर महानगरपालिकामा, राष्ट्रिय महिला आयोगका दीपेन्द्र काफ्ले तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद अधिकारीलाई गृह मन्त्रालयमा सरुवा भएको छ ।

    पोखरेल उपसचिव हुन्जेल हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेल जति पटक मन्त्री भए पनि निजी सचिव हुनेमा पर्दछन् । उनी शिक्षामन्त्री पोखरेलका बन्धु पनि हुन् । नारायणकाजी श्रेष्ठ र देव गुरुङ मन्त्री हुँदा पनि उनी पीए थिए । पछिल्लो पटक उनलाई पीए नबनाएपछि महालेखा नियन्त्रक कार्यालयमा सेटिङ मिलाएर शिक्षा मन्त्रालयको लेखानियन्त्रकमा सरुवा भए । र, शिक्षामा पुनः हैकम चलाउँदैआएका थिए ।

    बढुवा भएका सहसचिवमध्ये सुरेशप्रसाद नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भेषबहादुर कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैकुण्ठनिधि शर्मालाई जितपुर सिमरा उपमहानगरपालिकामा पदस्थापना भएका छन् ।

    ध्रुवकुमार पोखरेललाई पोखरा महानगरपालिकामा, भीमसेन तिमिल्सिनालाई थारू आयोगमा, शान्ता अधिकारीलाई राष्ट्रिय महिला आयोगमामा पदस्थापना भएको छ । ध्रुव गैडालाई प्रदेश २ को प्रदेश प्रमुखको कार्यालयमा, कैलाशराज पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।
    कृष्णप्रसाद पराजुलीलाई प्रधानमन्त्री कार्यालयमा, शैलजा रेग्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, बाबुराजा श्रेष्ठलाई नेपाल ट्रस्टको कार्यालयमा, राजीव पोखरेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, शिवादेवी दाहाल र शम्भु मरासिनीलाई अर्थ मन्त्रालयमा पदस्थापन गरिएको छ ।

    यस्तै गृह मन्त्रालयमा पदस्थापन हुनेमा सरोजप्रसाद गुरागाईं, दीपकराज नेपाल, पुण्यविक्रम पौडेल, केशवप्रसाद बिमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य, वासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, हरिप्रसाद घिमिरे, दीपककुमार पहाडी, कोषहरि निरौला, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी छन् ।

    ख्यामबहादुर थापा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, शंकर नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, विदुरप्रसाद खनाल धरान उपमहानगरपालिका, कृष्णबहादुर बोहोरालाई धनगढी उपमहानगरपालिका, नरनाथ गिरीलाई इटहरी उपमहानगरपालिका सरुवा भएका छन् ।

    कृष्णप्रसाद लम्साललाई लोकसेवा आयोगमा, ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकामा, प्रदीपराज अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, कविराज पौडेललाई हेटौंडा उपमहानगरपालिकामा, भूमिराज शर्मालाई वीरगन्ज महानगरपालिकामा पदस्थापन गरिएको छ । बढुवा भएकामध्ये १३ सहसचिव गृहमन्त्रालयमा पदस्थापन भएका छन् ।