• जनतालाई शान्ति–सुरक्षा र अमनचैन दिनका लागि अहोरात्र खट्नुपर्ने बर्दीधारीहरू जब आफू हिरो बन्न मिडियाको वरिपरि घुम्छन्, अनि जनताले त शान्ति–सुरक्षा पाउँदैनन् नै । बरु, गम्भीर र संवेदनशील घटनाका अनुसन्धान प्रभावित भैदिन्छन् ।
    लामो समयदेखि सुल्झिन नसकेको निर्मला पन्तको बलात्कार र हत्याकाण्ड यो प्रवृत्तिको एउटा प्रतिनिधि सन्दर्भ हो । मिडियाको काम सूचना सम्प्रेषणसँगै जनमत निर्माण, सही व्यक्तिहरूको कौशलताको चर्चा र गलत व्यक्तिहरूको आलोचना गर्ने हो । तर, हामीकहाँ त्यस्तो काम सामाजिक सञ्जालले गर्न थालेका छन्, जहाँ सञ्चारकर्मका लागि तालिमप्राप्त, जानकार र जिम्मेवार समुदायको खासै भूमिका हुँदैन । उदाहरणका लागि गायिका आस्था राउतले फेसबुकमार्फत् कड्किए पनि ठीक, उपत्यका प्रहरीले सिसिटिभी सार्वजनिक गरेको पनि ठीक भन्ने जमात छ । यसरी सामाजिक सञ्जालमा छरपष्ट अभिव्यक्ति दिने र त्यही आधारमा जनमत निर्माण हुने स्थितिले समाजलाई कहाँ पु¥याउँछ ? हिजो यही सामाजिक सञ्जालले निर्मला पन्त प्रकरणमा दिलिपसिंह विष्ट अपराधी होइन भन्ने हौवा पिट्यो, अहिले त्यही वर्ग फेरि दिलिप विष्ट नै दोषी हो भन्ने अवस्थामा पुगेको छ । यसो हुनुको दोषचाहिँ अनुसन्धानकर्मी प्रहरीमाथि जान्छ । कुनै घटनाको केही निश्कर्षमा पुग्नुअघि नै भीडको मनोविज्ञान हेर्नुपर्ने, गोली चल्ने, कफ्र्यु लाग्ने स्थितिले आफ्नो जागिरै जाने हो कि भन्ने त्रास पाल्नुपर्ने स्थितिमा सुरक्षाकर्मी छन् । दिनैपिच्छे प्रहरी अफिसरका जन्मदिन आउँछन्, फेसबुकका पाना रंगिन्छन् । ‘बहादुर, कर्मठ, कर्तव्यपरायण’ भनेर शुभकामना दिइन्छ । त्यसरी जन्मदिनको खुलेआम शुभेच्छा दिने व्यक्तिलाई त्यही अफिसरले कुनै अपराधकर्ममा पक्राउ गर्दा निष्पक्षतापूर्वक कारवाही गर्न सक्छ कि सक्दैन ? यसले आफ्नो धरातलमा उभिन, निष्पक्ष अनुसन्धान गर्न, रुल अफ ल कायम गर्न सघाउँछ कि सघाउँदैन ? लाइक, शेयर र कमेन्ट, अर्थात् चर्चा कमाउनमात्र रातोदिन लागेपछि कसरी सही अनुसन्धान हुन्छ ? अहिले हजारौँ हत्या, बलात्कार, चोरी र डकैतीका नसुल्झिएका घटना छन् । प्रहरीहरूमा आफूले ‘अण्डरकभर अपरेशन’ (सुक्ष्म अनुसन्धान) का गुह्य कुरा खुलासा गरेर बहादुरीका किस्सा सार्वजनिक गराउने होडबाजी छ । चूपचाप काम गरेर नतिजा निकाल्नतर्फ लाग्नुपर्नेले होहल्ला गरेर विषयवस्तुलाई गिजोलेपछि अनुसन्धानले बाटो बदल्ने, निर्दोष व्यक्ति प्रताडित हुने, दोषी उम्किरहने कुरालाई निर्मला काण्डको अनुसन्धानले पनि पुष्टि गर्छ ।
    कोही व्यक्ति अदालतबाट दोषी करार नभइकन ऊ, उसका कसुर र हुलिया सार्वजनिक गर्ने अधिकार कसैमाथि छैन । तर, हाम्रा प्रहरी नै हुन्, कसैको भिडियो खिचेर कसैलाई अपराधी करार गरिदिने । हालै सम्पन्न प्रहरी र सरकारी वकिलको सम्मेलनबाट यसबारेमा कडिकडाऊ सर्कुलर जारी भएको छ । तर, मान्छे समाउन पाएको छैन, अखबार र अनलाइनमा छरपष्ट पार्ने, ‘बहादुरी’ भनी प्रस्तुत गर्न लगाउने प्रबृत्ति बढ्दो छ । अनि, त्यही आधारमा सामाजिक सञ्जालमा विज्ञापन गर्ने खेति छ । उदाहरणका लागि रौतहटमा मोहम्मद आफ्ताव आलम समातिए । कसैले त्यहाँका एसपी भूपेन्द्र खत्रीको बहादुरी भनेर हौवा चलाए, त कसैले प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीबारे पाना रंगाए । अर्काथरिले ‘हैन, हेडक्वार्टरकै टोली पुगेपछि बाध्य भएर समातेका हुन्’ भनेर हिरोइज्म खडा गर्न खोजे । आखिरी, जघन्य अपराधको कसुरदारलाई नियन्त्रणमा लिनु र न्यायालयमा पेश गर्नु प्रहरी सेवाको स्थायी आदेश हो । व्यक्तिहरू निमित्त हुन्छन्, क्षेत्राधिकार र जिम्मेवारी मुख्य हुन्छ । तर, आजकल संस्था हैन, व्यक्ति बलियो या चर्चित हुने परम्परा देखिएको छ । कुनै अफिसरले राम्रो काम गरेको छ भने उसको योगदानअनुसार वर्षमा पुरस्कार, पदक र बढुवा पाउने व्यवस्था छ । तर, यसरी आफैँले हो–हल्ला गर्नुपर्दा कुराले वस्तुवादी मूल्यांकन नहुने, भनसुन लाग्ने र आफूले आफैंलाई सेलिब्रेटी बन्न बाध्य बनाउने स्थिति छ । यसैले हो, खरेलपथ हावी हुने । ‘माथिको आदेशले आलम समातिए’ भन्ने प्रचारबाजीले फिल्डका मान्छे सुतेर बसेका छन्, माथिको आदेशले मात्र काम हुँदैरहेछ भन्ने परेको छ । जनताको करबाट पालिएका फौजहरू हाकिमको आदेशले मात्र चलायमान हुने, अरु बेला कुम्भकर्णझैँ सुतेर बसेका छन् भन्ने अर्थ लाग्छ कि लाग्दैन ?