• काठमाडौं ।

    सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली कांग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरूको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’
    सभामुख निर्वाचनको पूर्वसन्ध्यामा, अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकूलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुंगिएको छ । सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा कांग्रेसलाई दुई दिनेबारे अबको छलफल चलाइने छ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपास्रोतले जनाएको छ । अनुमान छ– देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछोड्लान् । यसबाहेक संवैधानिक परिषद्को बैठकबाट टुंगो लाग्नुपर्ने विभिन्न नियुक्तिमा पनि कांग्रेसले भाग खोजेको छ ।
    संवैधानिक परिषद्को बैठक उपसभामुख टुंगो लगाएपछिमात्रै बस्ने भएको अवस्था छ । उपसभामुखमा कांग्रेस र राजपा दुबै दावेदार हुन् । तर, कसलाई दिने भन्नेमा सत्तारुढ नेकपा अझै टुंगोमा पुगेको छैन । राजपाले ३ मन्त्री मागेमध्ये १ उपसभामुख र २ मन्त्रालय अनि १ राज्यमन्त्री पाउने सम्भावना रहेको बताइन्छ ।