• बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् ।
    राजेश्वर रघुवीरका विश्वासपात्र । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए । वसन्तले प्रशासन महाशाखा प्रमुखसमेत रहेका राजेश्वरसँग असहयोग गर्नुको कारण सोधेपछि हो, मन्त्रीसँग मुखमुखै लागेको । रघुवीर सिञ्चाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर भौतिक मन्त्री भएपछि पनि महासेठकै पछि लागेर मन्त्रालय चलाए । त्यसबेला उनी मन्त्रीको निजी सचिव भन्दा पनि कमिसन एजेण्टको रुपमा बढी परिचित थिए । भौतिकमा पनि महासेठले त्यही भूमिकामा राखे । तर, रघुवीरको बहिर्गमनसँगै तिल्मिलाएका राजेश्वरले नयाँ मन्त्रीलाई शुरुदेखि नै असहयोग गर्न थाले ।
    नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा यति समूहको स्वार्थमा काम गरेर विवादित बनेका ट्रष्टका सदस्य–सचिव राजेश्वरले आफूलाई प्रधानमन्त्रीको खास मान्छे भन्दै मन्त्रीलाई मात्र होइन सचिव र अन्य कर्मचारीलाई पनि भाउ दिन छाडेका छन् । सिञ्चाई मन्त्रालयदेखि नै अकुत सम्पत्ति आर्जन गरेको विषयमा राजेश्वरको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठ्ने गरे पनि अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छुनसमेत सकेको छैन । नवलपरासी घर भएका राजेश्वरले प्रधानमन्त्रीको कार्यालयमा हुँदा स्मार्ट लाइसेन्स छपाईको काम गर्ने कम्पनी मद्रास सेक्युरिटी प्रिण्टर्स (एमएसपी) को लोकल एजेण्ट सुवोध त्रिपाठीसँग साँठगाँठ भएका कारण राज्यलाई हानी नोक्सानी पु¥याउने मतियारको रुपमा काम गरेको कर्मचारीहरु बताउँछन् । उनी दुई महिनाअघि स्मार्ट लाइसेन्स छपाईमा मास प्रिण्टर खरिदको ठेक्का पाएको कम्पनीको खर्चमा नै इटाली र स्वीट्जरल्याण्ड घुमेर आएका थिए । मास प्रिण्टरले काम गर्न नसक्दा प्राविधिकहरुलाई तालिम दिन इटाली लाने ठेकेदार कम्पनीको योजना थियो । तर, राजेश्वरले प्राविधिकको नाम काटेर विदेश जानेमा आफ्नो र रघुवीरका निजी सचिव सोमराज बरालको नाम हाले । प्राविधिक जानुपर्ने ठाउँमा कामसँग कुनै सम्बन्ध नभएका मन्त्रीका पिए सोमराजसहित निर्माण तथा यातायात महाशाखा प्रमुख प्रमिला शाक्य, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलालगायतले मस्ती मारेर आएपछि खास प्राविधिक निराश छन् । त्यही कारण उनीहरु विभागसमेत छोड्ने मनस्थितिमा पुगेको बताइन्छ ।
    वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका– २०७३ को दफा १३ मा ठेकेदारको खर्चमा सरकारी कर्मचारी विदेश जान नहुने उल्लेख छ । त्यही निर्देशिकामा आवश्यक तालिम दिनुप¥यो भने पनि सरकारले खर्च उपलब्ध गराउने भनिएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुशासन मामिला हेर्ने सचिव महेन्द्र गुरागाईंसमेत राजेश्वरसँग केही नभनी बसेका छन् । गुरागाईंले एक महिनाअघि ठेकेदारको खर्चमा विदेश गएकोबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जवाफ मागेका थिए । तर, मन्त्रालयले राजेश्वरको धम्कीका कारण अहिलेसम्म जवाफ पठाएको छैन ।
    त्यसरी ठेकेदारको खर्चमा विदेश घुम्न गएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि चासो देखाएको छ । नेपाल ट्रष्टमा बसेर प्रधानमन्त्री ओलीले अह्राएको काम गर्ने गरेकाले प्रधानमन्त्री कार्यालयमातहतकै अड्डाले गरेको कारवाहीको सिफारिस पनि प्रधानमन्त्रीले कार्यान्वयन गर्छन् भन्ने अवस्था नरहेको बताइन्छ । अहिले मन्त्रीसँग ठाकठुक परेपछि राजेश्वर काठमाडौं महानगरपालिका जाने योजनामा छन् । सचिव यादव कोइरालालाई भनेर महानगरपालिकामा जाने दाउमा उनी लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुले सुनाएको सचिव यादव कोइरालालाई भनेर महानगरपालिकामा जाने दाउमा उनी लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुले सुनाएको जनआस्थाले लेखेको छ ।