34

  • रवीन्द्र अधिकारीलाई मैले पहिलोपटक ०४५ सालमा भेटेको थिएँ । म कीर्तिपुर होस्टलमा बस्थेँ, उहाँ पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियुमा विद्यार्थी नेता । स्ववियुको ‘मुखपत्र’ माछापुच्छ्रेको प्रकाशनका लागि काठमाडौं आउनुभएको थियो । उहाँ कीर्तिपुरस्थित होस्टलको मेरो कोठामै बस्नुभयो । एक महिना सँगै बस्यौँ । पहिलो भेटमै उहाँप्रति मलाई छुट्टै प्रभाव प-यो । उहाँले मसिनो कामलाई पनि असाध्यै महत्वका  साथ हेरेको पाएँ । त्यसवेला आजकालका जस्तो आधुनिक प्रेस थिएनन् ।

    लेटर प्रेसमा कम्पोज गरेर पत्रिका निकाल्नुपथ्र्यो, मसिनो तरिकाले प्रुफ हेर्नुपथ्र्यो । उहाँ मध्यरातसम्म बसेर ती सबै काम एक्लै गर्नुहुन्थ्यो । किताब प्रकाशनपछि उहाँ पोखरा फर्किनुभो । पछि, गण्डकीबाट प्रतिनिधित्व गर्दै अनेरास्ववियुको केन्द्रीय कमिटीमा आउनुभयो । ०४६ सालको जनआन्दोलनमा पोखरामै विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा गिरफ्तार हुनुभयो । जेल पर्नुभयो । यता म पनि काठमाडौंमा जेले परेँ । 

    जनआन्दोलनपछि फेरि भेट बाक्लिन थाल्यो । विद्यार्थी संगठनको बैठक कहिले काठमाडौं त कहिले पोखरामा हुने क्रममा उहाँ र मेरोबीच एकपछि अर्को भेट हुँदै गयो । म पोखरा जाँदा पिएन क्याम्पसको होस्टलमा उहाँकै कोठामा सुत्थेँ । काठमाडौं आउँदा उहाँ प्रायः मेरै कोठामा बस्नुहुन्थ्यो ।  विद्यार्थीको बीचमा उहाँ असाध्यै लोकप्रिय मान्छे । एकपटक म पिएन क्याम्पस गएको थिएँ । उहाँ र मसँगै थियौँ । क्याम्पसगेट बगरबाट स्ववियु हुँदै क्याम्पसको प्रशासन भवनसम्म पुग्दा सयौँ विद्यार्थीले रवीन्द्रजीलाई नमस्कार गरे । म छक्क परेँ, ‘यति धेरै विद्यार्थीले उहाँलाई किन नमस्कार गर्छन् ?’ 

    मैले पछि उहाँलाई सोधेँ, ‘नमस्कार गर्नेमध्ये कतिको नाम कण्ठ छ ?’ उहाँले ९० प्रतिशतभन्दा बढीलाई नामले नै बोलाउने बताउनुभयो । विद्यार्थीका सजिला, अप्ठ्यारा गुनासा सुन्ने, हल गर्ने, रचनात्मक क्रियाकलापहरू गर्ने हुँदा विद्यार्थीले सम्मान दर्शाएका रहेछन् । 

    उहाँ पिएन क्याम्पसको सभापति हुनुभयो । देशभरका विद्यार्थी, क्याम्पस प्रमुख, विश्वविद्यालयका उपकुलपति र पदाधिकारीले समेत सार्वजनिक रूपमा उहाँको प्रशंसा गर्थे । केदारभक्त माथेमाजस्ता बौद्धिक र प्राज्ञिक उपकुलपतिले समेत सार्वजनिक रूपमै रवीन्द्रजीको प्रशंसा गरेको मैले सुनेको छु । पछि उहाँ काठमाडौं आउनुभो । फेरि हामी एउटै कोठामा बस्यौँ । मैले खाना पकाउँथे, उहाँ भाँडा माझ्नुहुन्थ्यो । यसरी पनि हामीले धेरै वर्ष बितायौँ । हामीबीच पारिवारिक घनिष्टता थियो । एउटै परिवारका सदस्यजस्तो भएर बस्यौँ । असाध्यै अनौपचारिक सम्बन्ध थियो ।  उहाँ त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बन्नुभयो । उहाँलाई जिताउन झन्डै १०÷१५ दिन कीर्तिपुरको नयाँबजारमा आवासीय रूपमै बसेँ । उहाँले जित्नुभयो । 

    जतिवेला पार्टी विभाजनको दुःखद् स्थितिको सामना ग-यौँ त्यो अवस्थामा पनि रवीन्द्रजी र म माले पार्टीमा सँगै भयौँ । माले विद्यार्थी संगठनमा म अध्यक्ष र उहाँ महासचिव भएर काम ग-यौँ । त्यसक्रममा कालापानी मार्च अभियान, सीमा सुरक्षा अभियान, सांस्कृतिक जागरण अभियान, विद्यालयदेखि विश्वविद्यालयसम्मको अभियान, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विद्यार्थीहरूले सहुलियत पाउनुपर्ने आन्दोलन, कलाकार प्रवीण गुरुङको हत्यापछि पारस शाहविरुद्ध हस्ताक्षर संकलन गरेर दरबारमा बुझाउने अभियानलगायतमा सँगै भयौँ । कतिपय आन्दोलनको उहाँले सफलताका साथ नेतृत्व गर्नुभयो । त्यसबाट रवीन्द्र अधिकारीको राष्ट्रव्यापी छवि निर्माण भयो । 

    एमाले र माले एकतापछि हामीलाई उचित भूमिका नहुने आशंकामा दुवैले पिएचडी गर्ने विचार गरेका थियौँ । संसद् विघटन भयो, राजा ज्ञानेन्द्रले शासन हातमा लिए । नयाँ परिस्थितिले फेरि राजनीतिमै सक्रिय हुने निर्णय ग-यौँ । मैले उहाँलाई पोखरा नै फर्किएर राजनीति गर्न सुझाब दिएँ । मेरो सुझाब मानेर एक बिहान उहाँ कमलपोखरीको डेराबाट ओढ्ने, ओछ्याउने, खानपिनका सामान र केही पुस्तक मिनी ट्रकमा हालेर पोखरा जानुभयो ।

    पोखरा फर्किएपछि उहाँ झनै स्थापित हुनुभयो । दुईपटक संविधानसभाको र पछिल्लोपटक व्यवस्थापिका संसद्को निर्वाचनमा लोकप्रिय मतका साथ विजयी हुनुभयो । ०६४ सालमा हाम्रो पार्टी धेरै स्थानमा पराजित भइरहँदा उहाँले जित हासिल गर्नुभएको थियो । पोखरामा उहाँको छवि कुनै एउटा राजनीतिक दलको नेताका रूपमा मात्र सीमित छैन । आमजनताको नेताका रूपमा स्थापित हुनुहुन्छ । 

    उहाँले संसद्मा समेत प्रभावकारी भूमिका खेल्नुभयो । पहिलो संविधानसभा असफल भयो । त्यतिवेला मैले संविधानसभाबाहिर बसेर हेर्दा संसद्भित्रका केही सम्भावना बोकेका युवामध्ये उहाँ नै हुनुहुन्थ्यो । त्यतिवेला संविधान बनाउन दबाब दिन ठूला–ठूला नेताहरूसँग पनि गएर उहाँले संवाद गर्नुभयो, समन्वय गर्नुभयो, समझदारी निर्माणमा प्रयास गर्नुभयो । दोस्रो संविधानसभामा पनि प्रभावकारी भूमिका खेल्नुभयो । 

    एमाले र माले एकतापछि हामीलाई उचित भूमिका नहुने आशंकामा दुवैले पिएचडी गर्ने विचार गरेका थियौँ । संसद् विघटन भयो, राजा ज्ञानेन्द्रले शासन हातमा लिए । नयाँ परिस्थितिले फेरि राजनीतिमै सक्रिय हुने निर्णय ग-यौँ । मैले उहाँलाई पोखरा नै फर्किएर राजनीति गर्न सुझाब दिएँ । अनि डेरा छाडेर जानुभयो ।

    म संसद्मा आएपछि कसरी प्रभावकारी भूमिका खेल्ने भनेर उहाँसँग धेरैपटक प्रशिक्षण लिएँ । संसद्भित्र भूमिका खेल्न ती कुराले मलाई सजिलो बनाएको छ । झन्डै तीन दशकको यात्रा मैले उहाँसँग बिताएको छु ।उहाँ बित्नुभन्दा अघिल्लो दिन मात्र हाम्रो कुराकानी भएको थियो । काठमाडौंको बानेश्वर थापागाउँ बैंक्वेटमा एक विद्यार्थी नेताको विवाह भोज थियो । त्यहाँ पनि विद्यार्थीहरू उहाँसँग फोटो खिच्न तँछाड–मछाड गर्दै थिए । उहाँलाई मैले भनेको थिएँ, ‘तपाईंसँग भेटेर कुरा गर्नु छ, ताप्लेजुङको सुकेटार विमानस्थल विस्तारको ठेक्काको टेन्डर निकाल्नुपर्ने भएकाले बैठक गरौँ ।’ उहाँले, ‘म भोलि बाहिर जान्छु, ३ बजे फर्किन्छु, ४ बजे बसौँ,’ भन्नुभयो । मैले साँढे ४ मा बस्ने प्रस्ताव गर्दा हुन्छ भन्नुभएको थियो । कहाँ जाँदै हुनुहुन्छ भनेर सोधिनँ ।

    म साँढे ४ बजेको प्रतीक्षामा थिएँ । फर्किएपछि मैले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका इन्जिनियर ध्रुवजीलाई पनि फोन गरेँ । त्यो बैठकमा मैले उहाँलाई पनि बोलाउनुथ्यो । केही दिनअघि महानिर्देशक सञ्जीव गौतमसँग मेरो कुराकानी भएको थियो । हामी विमानस्थल स्तरोन्नतिका लागि अन्तिम बैठक गर्दै थियौँ ।  दुर्घटनाको दिन १५ गते म हिमालय होटेलमा एउटा कार्यक्रममा थिएँ ।

    लन्च टाइमको ब्रेकमा बाहिर कफी खाइरहेका थियौँ । त्यहीवेला ताप्लेजुङका होटेल व्यवसायी सुरेश मादेनले फोन गरेर रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर पाथीभराको फेदमा खसेको जानकारी दिनुभयो । एकदम अत्यास लाग्यो । पहिलो फोन रवीन्द्र अधिकारीकै नम्बरमा गरेँ । नम्बर मलाई कण्ठै थियो । फोन रवीन्द्रका स्वकीय सचिव राजेन्द्रले उठाए । उनले मन्त्रीज्यू तेह्रथुम गएको बताए । उनको आधा घन्टाअघि सम्पर्क भएको रहेछ । हेलिकोप्टर खसेको जानकारी नै रहेनछ ।

    मैले भनेँ, ‘तुरुन्त फोन गरेर उहाँको लोकेसन के छ बुझ्नुस् ।’ पछि ताप्लेजुङको सिडिओ, डिएसपीलाई र पत्रकार साथीहरूलाई फोन गरेँ । हेलिकोप्टर क्र्यास भएको पुष्टि भयो । पाथीभरामा अरू पनि हेलिकोप्टर गइरहेको सूचना पाएँ । तर, उहाँकै हेलिकोप्टर दुर्घटना भएको पुष्टि भयो । तत्काल मैले पाथीभराको फेदीका स्थानीयलाई फोन गरेर घटनास्थलमा जान आग्रह गरेँ । उहाँहरू दौडिँदै दुई घन्टाको बाटो ४५ मिनेटमै पुग्नुभएछ ।  

    घटनास्थलमा पुगेपछि उहाँहरूले फोनमा हेलिकोप्टर खसेको र मानिसहरू जलिरहेको जानकारी दिनुभयो । त्यहाँ पानी थिएन । उहाँहरूले कसैलाई निकाल्न सक्नुभएन । पछि सिडिओ, सेना, सशस्त्र प्रहरी, प्रहरी, पत्रकार, स्थानीयवासी सबै जानुभयो । हिउँ परिरहेको थियो । चारजनाको मात्र लास निकाल्न सकिएको थियो । साँढे १० बजे राति सामग्री लिएर अर्को टोली गयो । प्रहरीहरूले कष्टकर तरिकाले रात बिताउनुभयो । 

    (नयाँ पत्रिका लागि शुरोजंग पाण्डेसँगको कुराकानीमा आधारित)

tt
45