• काठमाडौं ।

    आम जनतामा दास मनोवृत्ति नभएको भए नेपालमा भ्रष्टाचारको साम्राज्य यति ठूलो हुने थिएन । नेपालमा आम जनता तमसुकी पद्धतिदेखि नै शोषण सहन पोख्त छन् । वर्तमान अवस्थामा भन्ने हो भने वर्तमानका ठूला ठालु अधिकृतहरू तिनै तमसुक दोब्बर देखाउनेका सन्तान हुन् र उनीहरू नै अधिकांश पदमा आसीन छन् । अर्कोतर्फ जनतामा दास मनोवृत्तिले बलियो गरी जरा गाडेको छ । तराईका अदालतमा कर्मचारीलाई घरैबाट दूध, केरा, आँप ल्याइदिइन्छ । त्यसरी ल्याएको सामान कर्मचारीले नखाइदिए जनताले काम नहुने भयो भन्ठान्छन् । मुद्दावालाले तिनका मुद्दामा घुस चल्नैपर्ने, घुस खाइदिए मात्र मुद्दा जितिने विश्वास गर्छन् । वकिललाई प्रत्यक्ष सोध्ने गर्छन्, ‘तपाईंको न्यायाधीशसँग कस्तो सम्बन्ध छ ?’ न्यायाधीशकहाँ घुस पु¥याउने विश्वास दिलाए मुद्दा दिन्छन्, नभए दिँदैनन् । यस्तै सोचका कारण शोषणको सिकार पनि हुन्छन् ।

    साँच्चै भन्ने हो भने मुद्दाको स्वच्छ सुनवाइको निम्ति कर्मचारी, वकिल, न्यायाधीशले स्वच्छ र पारदर्शीरूपमा कामकारबाही गर्नुपर्छ । कानुन व्यवसायीले मुद्दामा घुस चल्छ भनी प्रचारप्रसार गर्नु हुँदैन । कर्मचारीले तारिख दिएका सेवाग्राही र भेटेजतिकासँग पान र चिया खानुभएन । घुस पु¥याउँछ काम गर्छ पनि भन्नुभएन । सुन्दा तीतो लाग्ला, नेपालमा घुस चल्छ भन्ने अहिले व्यापक छ । यथार्थमा घुस लेनदेनको वृद्धि हुनुमा दिने पक्ष पनि दोषी छ । यहाँ घुस दिनेलाई किन कारबाही गरिँदैन ? काममा क्षणभर ढिलाइ हुनासाथ पैसा दिने चलनले पनि घुस प्रथा बढाएको छ ।

    अहिलेको युगमा व्यापार व्यवहार कमिसनको वरिपरि घुमेको छ । छोराले बाबुको काम गर्दा पनि कमिसन माग्ने चलन छ । श्रीमतीको दाइजो बिक्री गर्दा पतिले घुमाएर कमिसन लिएको देखिन्छ । मामाले भान्जाभान्जीको काम गर्दा पनि कमिसन खोजेको देखिन्छ । हाम्रा समाजमा आधुनिकता बढ्दै जाँदा माया, दया, धर्म परोपकार भन्ने रहेन । आजभोलि व्यक्ति–व्यक्तिबीचको कामको कमिसनलाई उपरी आय मानिन्छ । जब सरकारी अड्डाका हाकिम, अधिकृत, सुब्बा, डिट्ठा र कार्यालय सहयोगीले सेवाग्राहीको काम गरिदिएबापत घुस माग्छन् । घुसप्रथा आम बनेको छ ।

    न्यायपालिकाका एकजना प्रभावशाली कर्मचारीले मालपोतमा काम गराउन जाँदा लेखापढी गर्ने व्यक्तिले अधिकृतका निम्ति घुस मागेछ । उसको बानी थियो, उसले माग्यो । एक अधिकारीले अर्को अधिकारीको काम छिटोछरितो र पक्का गरिदिए घुस माग्ने प्रचलन आम छ । त्यसलाई अन्यथा भनिँदैन । यसरी घुसैघुसको चारो खुवाएर हुर्काएका घुस्याहा कर्मचारीका निकटवर्तीमा पनि घुस्याहा बानी विकास भइसकेको हुने रहेछ । समाजमा त्यस्तै देखिन्छ । घुस्याहा कर्मचारीका सन्तानले सेवामा प्रवेश गरेदेखि नै घुसको स्रोत फैलाएको मैले देखेको छु ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्ने गरेका डिट्ठा सुब्बा, खरदार, मुखिया, प्राथमिक तहका शिक्षक, कार्यालय सहयोगी त घुस्याहा कर्मचारीको कुल संख्याको एक प्रतिशत पनि होइनन् । अर्कोतर्फ अख्तियारले जति कर्मचारी पक्राउ गरेको छ, ती जम्मै तल्लो स्तरका हुन् । माथिल्लो तहमा रहेर अर्बौंको भ्रष्टाचार गर्नेहरू भने सधैं जोगिने गर्छन् । अर्बअर्बको लेनदेन अचेल विदेशमा हुन्छ, स्वदेशमा हुँदैन । यहाँ त हिसाब मात्र आउँछ रकम आउँदैन । जब नेपालभित्र भ्रष्टाचारको व्यापक हल्लाखल्ला हुन्छ, त्यस अवस्थामा मूल व्यक्ति भागिसकेको हुन्छ । हवाईजहाजमा सुनको हात्ती प्रवेश गरे पनि पचेकै छ । प्रतिबन्धित रकम आए पनि पवित्र जल छर्केर चोख्याइने चलन हुँदा अर्ब–अर्बका विरुद्ध कारबाही नहुने तर सानातिना कनिका टिप्नेको हकमा कारबाही भएको देख्न सकिन्छ ।
    (अन्नपूर्णमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको बिचारको अंश)