• काठमाडौं
    । महारागंजस्थित त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक १६औं पटक अनशनमा छन् । चिकित्सा शिक्षामा कुनै साईनो नभएको माग राखेर त्यहाँका चिकित्सक गोविन्द केसीले अस्पलातमा सेवा नगरेको धेरै भयो । यो अस्पतालका हाडजोर्नी बिभागका प्रमुखसमेत रहेका केसीले उपचार नगर्दा यो रोगले पीडित धेरै बिरामी निजी अस्पतालमा जान बाध्य छन् । यही सेरोफेरोमा पत्रकारहरु राजु स्याङ्तान, सपना महर्जन, अजवी पौड्याल, सृजना खड्काले यो अस्पतालको स्ट्रिङ अप्रेसन गरेका छन् । त्यसको केही अंश यस्तो छ ।

    बिहान ११ बजे। बर्थिङ सेन्टरमा एक कर्मचारी सफा गर्दै थिइन्। आफ्नो काम सुरु नगर्दै उनी बर्बराउन थालिन्, ‘जति सफा गरे पनि हुँदैन। कति फोहोर गर्न सकेका ? ’ उनी कामभन्दा बढी रिसाउन थालिन् । त्यही बेला तातो सुप लिएर आइपुगे एकजना कुरुवा। कर्मचारीले उनीमाथि रिस पोखिन्। ‘सफा गर्न लागेको, आँखा देख्नुहुन्न ? ’ हातमा सुप लिएका कुरुवा अलमल परे। ‘सफा गरिनसकेसम्म कोही भित्र जाने होइन,’ उनले आदेशको लवजमा भनिन्। कुरुवा ढोकैमा कुरिरहे। १५ मिनेट बित्यो। सुत्केरी श्रीमतीलाई सुप ल्याएको भन्दै उनी अनुनय गरिरहन्थे। कर्मचारी सुन्दिनथिन्। सुप सेलायो। फेरि तातो सुप लिन कुरुवा क्यान्टिनतर्फ दौडिए।

    बिहान ९ः३० बजे। हाडजोर्नी विभागको कोठा नम्बर ७ का डाक्टरले बिरामीलाई हकारपकार पारे। उनको पालो ४ नम्बरमा रहेछ। बोलाएको समयमा पुग्दा डाक्टरले २२ नम्बरका बिरामी जाँचिरहेका थिए। बिरामीले सुस्तरी भने, ‘सर मेरो पालो चौथो नम्बरमा हो। तपाईंले भनेकै समयमा आएँ। तर तपाईं २२ नम्बरको बिरामी जाँचिरहनु भएको छ १’ एप्रोन नलगाई बिरामी जाँचिरहेका ती डाक्टरले बिरामीलाई आँखा तरे। नाकको पोरा फुलाए। झम्टिँउलाझैँ गरे। त्यसपछि कड्किए, ‘उता बस्नुस्। धेरै नकराउनुस्। अहिले आउँछ पालो।’ बिरामी अकमक्क परे। उनले नम्र हुँदै फेरि भने, ‘हामीसँग यसरी नसिराउनुस् न सर। हामी उपचार गर्न आएका हौं।’ डाक्टरको रिस अझ उम्लियो। ‘ए दिदी। यता आउनुस् न’, उनले ढोकामा कार्यरत महिला कर्मचारीलाई ठूलो स्वरमा बोलाए। त्यसपछि बिरामीका पुर्जा राम्रोसँग आफ्नो टेबलमा राख्न निर्देशन दिए।

    आमाको उपचार गर्र्न पुगेकी सिन्धुपाल्चोककी सिर्जना वाइबा परिसरमा भेटिइन्। ६ महिनाअघिको घटना उनले सुनाइन्। पाठेघरको समस्या लिएर उनी डाक्टरको कार्यकक्षमा पुगेकी थिइन्। त्यसबेला डाक्टर आइपुगेका थिएनन्। उनले आफ्नो झोला झुक्किएर डाक्टर बस्ने कुर्सीमा राखिन्। त्यहीबेला डाक्टर आइपुगिन्। ‘यो झोला कसको रु ’ डाक्टर चिच्याइन्। सिर्जनाले झोला कुर्सीबाट निकालिन्। त्यसदिनको तीतो अनुभव उनले सम्झिइन्, ‘डाक्टरले हकार्दै बाउआमाले संस्कार सिकाएनन् भन्दै गाली गरिन्। मैले सरी भनेँ। तर उनको रिस मरेन।’ उनै डाक्टरले सिर्जनालाई जाँचिन्। सिर्जना भन्छिन्, ‘मेरो चित्त दुख्यो। त्यो डाक्टरलाई मैले आफ्नो समस्या भन्नै सकिनँ।’

    सुत्केरी छोरीको कुरुवा बसिरहेकी नेपालगञ्जकी निर्मला सुवेदीलाई पनि डाक्टरले हकारे। भन्छिन्, ‘यहाँका डाक्टर र कर्मचारी झर्कोफर्को गर्छन्। साहै्र दुःख लागिरहेको छ। यो अस्पतालमा कहिल्यै आउन नपरे हुन्थ्यो भन्ने लागिरहेको छ।’

    रिपोर्ट लिने काउन्टर नम्बर १३ का कर्मचारी, रेडियोलोजी विभागका कर्मचारी पनि बिरामीसँग रिसाइरहेकै थिए। प्रसूति वार्डअगाडि एक जना कर्मचारी एक महिलालाई थर्काउँदै थिए, ‘एकचोटी भनेपछि लाग्दैन रु दशचोटी भन्नुपर्छ रु ’

    अस्पतालका कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘सबै डाक्टर रिसाउँदैनन्। कतिपयको मानवीय स्वभाव पनि हुनसक्छ।’

    निजीमा जान बाध्य

    इन्डोस्कोपी गराउँदा समय लिनुपर्छ। कर्मचारीले पहिले बिरामीको ठेगाना सोध्छन्। त्यसपछि अत्याउँदै भन्छन्, ‘१५ दिनभन्दा अगाडि तपाईंको पालो आउँदैन।’ उपत्यका बाहिरबाट आएका बिरामी आत्तिन थाल्छन्। त्यसपछि त्यहाँका कर्मचारीले उपाय सुनाउँछन्, ‘नारायणगोपाल चोक नपुग्दै पश्चिमपट्टि क्लिनिक छ। त्यहाँ जानुस् आजै हुन्छ।’ सिन्धुलीका डम्बरबहादुर तामाङले भने, ‘यहाँ गर्दा सात दिन लाग्छ रे। बाहिर इन्डोस्कोपी आजै हुन्छ भने, त्यतै जाँदैछु।’

    नवीन पाण्डेका सहकर्मी गतहप्ता मोटरसाइकल दुर्घटनामा परे। घाइतेलाई लिएर रातको १२ बजे उनी टिचिङ अस्पताल पुगे। टाउकोबाट भलभल्ती रगत बगिरहेको थियो। इमर्जेन्सी वार्डमा दुई जना मात्रै डाक्टर थिए। मिलन डाक्टर पर्खिरहे। डेढ घन्टा कुर्दा पनि नआएपछि उनी घाइतेलाई लिएर निजी अस्पताल गएको अन्नपूर्णले लेखेको छ ।

    प्रशासनिक प्रमुख अधिकारी टिचिङमा १५ सय कर्मचारी र करिब ४ सय डाक्टर रहेको बताउँछन्। अस्पतालमा चाप बढी भएपनि आइसकेका बिरामीलाई बाहिर पठाउने नियत नभएको उनको दाबी छ। भन्छन्, ‘डाक्टरहरुले बिरामीलाई बाहिर उपचार गराउन पठाएको थाहा पाए कारबाही गर्छौं।’

    सहायता कक्ष एनजीओलाई

    बिहान ६ बजे टोकन खुल्छ। ८ः१५ बाट टिकट वितरण सुरु हुन्छ। टिचिङको परिसरमा बुधबार बिहान ६ बजे पुग्दा दुई÷चार जना मात्रै आइपुगेका थिए। टिकट काउन्टर खुल्यो। टिकट दिनेले त्यसपछि कहाँ जाने स्पष्ट भनेनन्। एक बिरामीले आफ्नो उमेर ३० वर्ष बताए। तर टिकटमा देखियो ४० वर्ष। उनी अलमल भए। त्यसपछि सोध्न पुगे सहायता कक्षमा।

    यो कक्ष बेलाबेलामा खाली हुने गर्छ। बिहान ८।३० बजे खाली थियो। आश्चर्य लाग्दो त के छ भने सहायता गर्न बसेकाहरू टिचिङका कर्मचारी होइनन्। एनजीओकर्मी हुन्। सहायता कक्षमा ‘बसुन्धारा हेल्पिङ ह्यान्ड्स’ का तीन कर्मचारी कार्यरत छन्। उनीहरु कहिले युट्युबमा भिडियो हेरिरहेका हुन्छन्, कहिले फेसबुक चलाइरहेका हुन्छन्।

    ‘तपाईंहरुलाई टिचिङबारे सबै थाहा छ रु ’ एक जनाले सोधे। महिला एनजीओकर्मीले भनिन्, ‘यहाँ भित्रको सबै जानकारी लिएर बसेका हौं।’ एकजना वृद्धा त्यहाँ आइपुगिन्। उनले इन्डोस्कोपी गर्ने ठाउँ सोधिन्। ती एनजीओकर्मीले औंलाले इसारा गर्दै जानुपर्ने दिशा देखाइन्। उनले भनेकैतिर गइन् वृद्धा। तर भीडमा अलमलिइन्। ‘खै उता जा भन्छन्, कता हो कता रु ’ उनले सुस्केरा छोडिन्।

    प्रशासनिक प्रमुख अधिकारी स्वयंसेवा गर्न आउनेलाई रोक्न नमिल्ने बताउँछन्। अस्पतालकै सोधपुछ कक्ष पनि छ। तर, त्यहाँ पुग्न सेवाग्राहीले अस्पतालको एक चक्कर लगाउनुपर्छ। त्यहाँ पाका कर्मचारी बसेका हुन्छन्। बोल्न पनि अनकाउँछन्।