• काठमाडौं ।

    सिन्धुपाल्चोक चौताराका रमेश अर्याल प्रायः काठमाडौं आईरहन्छन् । कार्यालयको कामको शिलशिलामा उनको केन्द्रीय राजधानीमा आउनु अनिवार्य छ । काठमाडौं पुगेका बेला उनी खाजा खान भने सिहंहदरवार छिर्ने गरेका छन् । सिंहदरवारको मुख्य क्यान्टिनमा खाजा खाईरहेका अर्यालले भने,‘सिंहदरवारमा खाजा सस्तो पाईने रहेछ त्यही भएर खाजा खानका लागि यता आउने गरेको छु ।’
    हुनत प्रदेशस्तर र स्थानीय तहमा नै सरकारी काम हुने भएपछि केन्द्रीय राजधानीको सरकारी अड्डा भएको सिंहदरवारमा मानिसको आवतजावत कम हुुनु पर्ने हो । तर, त्यस्तो देखिदैन । कामका लागि भन्दा पनि सस्तो खाजा र खानाका लागि सिंहदरवारमा मानिसको भीड बढ्ने गरेको सहज अनुमान गर्न सकिन्छ । त्यसोत रसुवाका दिनेश लामा पनि प्राय काठमाडौंमै हुन्छन् । अनामनगरमा सानोेतिनो ब्यवसाय गरेका उनी फुर्संद हुनासाथ सिंहदरवार छिरेर खाना तथा खाजा खाने गरेका छन् । बाहिर सामान्य रेष्टुरेन्टमा बस्यो भने हजार रुपैयाँ खर्च भईहाल्छ तर, सिंहदरवारको क्यान्टिनमा पस्यो भने सस्तोमा खाजा खान पाईन्छ । ‘सुरुमा त बीस रुपैयाँमा मम खान पाईन्छ भन्ने थाहा नै थिएन । बीस रुपैयाँमा नै भेज मम खान पाउने भएपछि किन महँगो खाजा खाने’ लामाले उल्टै प्रश्न पो गरे ।
    सर्वसाधारण तथा कर्मचारी मात्र होईन नेताहरु पनि सिंहदरवारको क्यान्टिनमा खाजा खाईरहेको भेटिन्छ । सफा,ताजा र सस्तो भएपछि सिंहदरवार प्रवेशमा पहँुच हुनेहरु त्यही पुगेर खाजा खाने गरेका छन् । सिंहदरवार सुरक्षा निकायका अनुसार पनि सिंहदरवार प्रवेशको संख्या ह्वात्तै बढेको छ । त्यसोत सहज प्रवेश गर्न नपाउनेहरु पनि बिभिन्न मन्त्रालयलाई नाम टिपाएर सिधै क्यान्टिमा पुग्ने गरेका देखिन्छ । ‘हामीले पनि यति धेरै मानिसको सिंहदरवारमा प्रवेशपछि अनुसन्धान गरेका थियौ, धेरै मान्छे सस्तो खाजाका लागि प्रवेश गर्ने गरेको पाएका छौं’,एक सुरक्षाकर्मीले जनप्रशासन सँग बताए ।
    सिंहदरवारका बिभिन्न मन्त्रालय सँगै क्यान्टिन पनि छ । त्यहाँ पनि बाहिरको तुलना सस्तो खाजा तथा खानाको ब्यवस्था छ । त्यस बाहेक सिंहदरवारका मुख्य क्यान्टिन सूचना तथा प्रबिधि मन्त्रालयको अगाडि केन्द्रीय सर्भिस सेन्टर भनेर नाम राखिएको भवनको तल्लो तलामा छ । यहाँ खाजा खानेको संख्या दैनिक एक हजारसम्म हुने आंकलन गरिन्छ । कालो चिया तीन रुपैयाँ तथा भेज मम बीस रुपैयाँमा पाउने भएपछि यो खवर थाहा पाउन सिंहदरवार वाहिर आसपासमा कार्यालय खोलेर बसेका तथा काम गर्नेहरु बिभिन्न मन्त्रालय वाट अनुमतिपत्र मगाएर प्रवेश गरेर सस्तोमा भोक मेटाउने गरेका छन् ।
    हुनत यो भवनमा सिंहदरवारमा काम गर्ने कर्मचारीका लागि लक्षित गरी सरकारले सुलभ रुपमा खाजा तथा खानाको ब्यवस्था गर्न क्यान्टिन सञ्चालनको तारतम्य मिलाएको हो ।
    सरकारले सिंहदरबारभित्र कर्मचारीका लागि व्यवस्थित खाजाघर (फुडकोर्ट) बनाउन इन्टेरियर डिजाइनको लागत अनुमान तयार गरिरहेको छ । अहिले मन्त्रालयपिच्छेका खाजाघरलाई व्यवस्थित गर्न केन्द्रीय सर्भिस सेन्टरमा फुडकोर्ट बनाउने योजना अघि सारिएको हो । यहाँ सरकारले डिपार्टमेन्ट स्टोरसहित विभिन्न सुबिधा दिन केन्द्रीय सर्भिस सेन्टर बनाएको हो ।तर यसको सुरुवात भने भएको छैन ।
    सिंहदरबार परिसरभित्र कम्तीमा पाँच स्थानमा व्यवस्थित सार्वजनिक शौचालय बनाउने योजना पनि सिंहदरवार पुर्ननिर्माण समितिले अघि सारेको छ । मन्त्रालय भवनभित्र शौचालय भए पनि बाहिर हिँडिरहेका आगन्तुकलाई सजिलो होस् भनेर यस्ता शौचालय बनाउन लागिएको हो ।
    व्यवस्थित फुटकोर्ट आकर्षक बगैचा,पाँच सार्वजनिक शौचालय र आकासेपानी संकलन प्रसोधन विवरणको व्यवस्था मिलाइदै सिंहदरबारको नयाँ चित्र बनाइएको हो ।
    सरकारले गरिरहेको आधुनिक सिंहदरवारको अवस्था जहाँ पुगे पनि केन्द्रीय सर्भिस सेन्टरको भुँईतलामा भएको सस्तो क्यान्टिनले सिंहदरवारभित्रको भीडलाई बढाएको मात्र छैन पैसा कम हुनेको थोरै रकममा भोक पनि मेटाएको छ । सस्तोमा भोक मेटाउनकै लागि सिंहदरवार प्रवेश गर्नेको संख्याले भने यहाँ अरु समस्या पनि पार्न सक्छ यस वारे भने सचेत हुनु पर्ने बिगतमा सिंहदरबार सुरक्षाको कमाण्ड गरेका पूर्व प्रहरी निरिक्षक ऋषिराम ढकालले बताए । यसका लागि सिंहदरवार सुरक्षाका लागि तैनाथ भएको टोलीले बिशेष ध्यान दिनु पर्ने उनको सुझाब थियो ।
    दैनिक झण्डै एक हजार ग्राहकको सेवा गर्ने यो क्यान्टिन सञ्चालकले सरकारी कर्मचारीसँगै सर्वसाधारणलाई पनि सस्तो रकममा खाजा खुवाईरहेका छन् । ‘हुनत यहाँ कर्मचारीका लागि क्यान्टिन सञ्चालन गर्न अनुमती दिईएको सुनेको हुँ तर, कर्मचारी भन्दा अरु सर्वसाधारणको ताँती धेरै लाग्ने गरेको छ ।’ क्यान्टिनमा काम गरिरहेका एक कामदारले वताए । यहाँको दृष्यले पनि सरकारी पोशाकमा ठाँठिएका कर्मचारीसँगै अन्य सर्वसाधारणको संख्या उस्तै देखिन्छ ।

    जनप्रशासन पाक्षिकवाट