• काठमाडौं ।

    सरकारका मन्त्रीहरु मध्ये सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितको फरक पहिचान छ । अघिल्लो पटक सामान्य प्रशासन मन्त्री हुँदा नै चर्चामा रहेका लालबाबुले सरकारी कर्मचारीको दोहोलो काढेका थिए । तर, अहिले उनकै मन्त्रालयका सचिव र उनका मातहतका कर्मचारीले सरकारको नीतिलाई ठाडै चुनौती दिन थालेका छन् । आफूलाई पूर्व एमालेको अब्बल कार्यकर्ता भन्न पछि नपर्ने सचिव दिनेश थपलियाले अहिले काँग्रेस पृष्ठभूमिका कर्मचारीलाई काखी च्यापेर आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । यी सवै काममा मन्त्री पण्डितलाई पनि गुमराहमा पारेका छन् । काँग्रेस पृष्ठभूमिका सहसचिव पुरुषोत्तम नेपाललाई साथ लिएर सचिव थपलियाले आर्थिक उपार्जन गरिरहेको चर्चा मन्त्रालय वरपर चलिरहेको छ । प्रकाशमान सिंह स्थानीय बिकास मन्त्री भएका वेला राखेका ब्यक्तिहरुलाई संरक्षण गर्दै सचिव थपलियाले मन्त्रीलाई समेत गुमराहमा पारेको नेकपा आवद्ध कर्मचारीले नै गुनासो गर्न थालेका छन् । प्रकाशमानले नियुक्त गरेका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक बिष्णु सापकोटालाई थमौती गर्न सचिव थपलिया र सहसचिव नेपालले गरेको प्रयत्नले पनि यही कुराको पुष्टि गर्दछ ।
    प्रतिष्ठानका कर्मचारी सामु नै आफू अयोग्य भएको वकपत्र दिएका कार्यकारी निर्देशकले मन्त्री समक्ष राजिनामा दिन खोज्दासमेत सहसचिवको योजना बमोजिम सचिव थपलियाले रोकेको उनैले स्वीकार गरेका छन् । नयाँ सरकार गठन भएसँगै सरकारलाई सजिलो पारिदिने भन्दै राजिनामा दिन मन्त्रालय पुगेका कार्यकारीलाई केही कर्मचारीको धम्क्याईमा राजिनामा नदिन सचिव थपलियाले सुझाव दिएका थिए । सचिव थपलियाले कार्यकारी निर्देशकलाई राजिनामा नदिन भन्दै उल्टो विदा स्वीकृत गरेका थिए । राजिनामा दिनका लागि आएका सापकोटाको बिदा स्वीकृत गरेपछि प्रतिष्ठानका कर्मचारीले मन्त्री नै गुहार्न परेको थियो । प्रतिष्ठानमा नै कार्यकारी निर्देशकलाई सहयोगीदेखि अधिकृतसम्मले घेराउ गरेपछि उनी राजिनामा दिन हिँडेको एक कर्मचारीले वताए । तर, सचिव थपलियाले उल्टै पाँच वटा कामको ‘टिओआर’ दिनुले पनि उनी कार्यकारी निर्देशकलाई थमौती गरेर सापकोटा मार्फत आफ्नो दुनो सोझ्याउने योजनामा लागेको स्पष्ट देखिन्छ । मन्त्रीले समेत आफ्नो कार्यकक्षमा वोलाएर सके कमाण्ड गर्नुस् नसके राजिनामा दिनुस् भनेका ब्यक्तिलाई सचिवले काम दिएर पठाउनुले पनि सचिव थपलियाको नियत छर्लङ्ग हुन्छ ।
    सन् २००८ देखि स्थानीय विकास मन्त्रालय मार्फत सञ्चालन भएको एलजीसिडिपी कार्यक्रम आगामी साउनदेखि नयाँ मोडलमा आउन लागेका कारण पनि सचिव थपलिया र सहसचिव नेपालले आफू अनुकुलका सापकोटालाई थमौती गर्न लागेको स्रोतले जानकारी दियो । पाँचै विकास क्षेत्रमा क्षमता विकास गर्नका लागि सञ्चालन भएको यो कार्यक्रम नयाँ संरचनामा आउँदै छ । त्यसका लागि नयाँ कर्मचारीको पनि आवश्यक हुन्छ त्यहाँ आफु अनुकुलका मान्छे भर्ना गर्दै वजेटमा तर मार्नका लागि पनि सचिव थपलिया सहसचिव नेपालको योजनामा सामेल भएको स्रोतले जानकारी दियो । बिगतमा पनि आफै मान्छे भर्ती गरेका यी दुईले नयाँ प्रोजेक्ट पनि सोही अनुरुप गरेर झ्वाम पार्ने योजनामा बनाएका छन् ।
    मुलुक नै संघीयतामा प्रवेश गरेपनि यो कार्यक्रममा भने मन्त्रालय नै प्रत्यक्ष रुपमा संलग्न हुने नियम उनीहरुले वनाउँदै छन् । दाताले अहिलेको संरचनामा केही परिवर्तन गर्न सुझाव दिएपछि यो कार्यक्रमलाई उनीहरुले सोझै मन्त्रालय मार्फत सञ्चालन गर्ने योजना वनाएका छन् । यो नियत सँगै उनीहरु सरकारका काम असफल पार्ने योजनामा रहेको स्पष्ट हुन्छ । नियमत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत यी परियोजना सञ्चालन गर्नुपर्ने हुन्छ । तर, सचिव र सहसचिवले प्रत्यक्ष रुपमा नै आफू संलग्न भएर यो परियोजना सञ्चालन गर्न खोजिरहनुले पनि उनीहरुको नियत छर्लङ्ग हुन्छ । आगामी पाँच वर्षमा लागि बिगत भन्दा दशौं गुणा धेरै रकमको बजेट आउने कारण पनि उनीहरु यी रकम आफू अनुकुल सञ्चालन गर्न मरिमेटेर लागेको मन्त्रालयस्रोतले जनप्रशासनलाई जानकारी दियो ।
    त्यसोत सचिव थपलिया उनै सहसचिव नेपाललाई प्रष्ठिानको कार्यकारी निर्देशक वनाउने योजनामा रहेका छन् । यो प्रस्ताव थपलियाले मन्त्री समक्ष पनि राखिसकेका छन् । मन्त्रीलाई पनि ‘कन्भिन्स’ गरेका सचिव थपलियाले प्रधानमन्त्री केपी ओलीको हवला दिएर हाललाई सहसचिव नेपाल कार्यकारी निर्देशनमा पठाउन लागेको मन्त्रालयका एक अधिकृतले वताए । त्यसोत प्रतिष्ठानका नेकपा आवद्ध कर्मचारीले समेत मन्त्री पण्डितलाई योग्य निर्देशक पठाउन अनुरोध गरेका थिए । मन्त्री पनि कर्मचारी भन्दा सचिव र सहसचिवको लहैलहैमा लागेको एक कर्मचारीले जनप्रशासन सँग वताए । सहसचिव नेपाल जो हरेक समय कमाउ अड्डामा वसेर आर्थिक उपार्जन गरेका कर्मचारी हुन् । अधिकांश समय बिभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भएका नेपालले कमाउ अड्डामा कार्यकारी अधिकृतको रुपमा पनि काम गरेका छन् । अहिले पनि बिभिन्न प्रकारका तालिमका कार्यक्रममा हर्ताकर्ता वनेर आर्थिक उपार्जन गरिरहेका छन् । स्थानीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी अधिकृतले राजीनामा दिएपछि सके आफै जाने नभए आफ्नो अनुकुलका ब्यक्तिलाई नियुक्ती गरेरै छाड्ने उनले मन्त्रालयमा नै वताउने गरेका छन् ।

    जनप्रशासन पाक्षिक