• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५८८ वटा नमूनाको परीक्षण हुँदा १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यीसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५३१ पुगेको बताएका छन् ।

    यसरी पछिल्लो एक सातायता नेपालमा नयाँ थपिने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयको तथ्यांकमा देखिन्छ । गत असार १९ गते भने अहिलेसम्मकै धेरै ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

    मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये हालसम्म ७ हजार ८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट थप १३९ जना भाइरसमुक्त भई डिस्चार्ज भएका छन् ।

    प्रवक्ता डा. गौतमका अनुसार अहिले मुलुकभर ८ हजार ६०५ जनाको आइसोलेशनमा उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म पीसीआर विधिबाट कुल २ लाख ६६ हजार ४५७ वटा नमूनाको परीक्षण भएको छ । अहिले क्वारेन्टाइनमा २४ हजार ४२५ जना रहेको पनि मन्त्रालयले बताएको छ ।