• काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकाका मात्रै ३० जना रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा उक्त संख्यामा नयाँ संक्रिमित थपिएसँगै देशभर संक्रमित हुनेको कुल संख्या १५ हजार ७८४ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार उपत्यकामा संक्रमित हुनेमा काठमाडौंका २७, ललितपुरका २ र भक्तपुरका १ गरी जम्मा ३० जनामा कोरोना पोजिटिभ देखिएको हो ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप १३२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँग कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये ३४ जनाको भने कोरोनाकै कारण यसअघि मृत्यु भइसकेको छ ।

    मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१० जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको थियो । हालसम्म मुलुकभर २ लाख ५० हजारभन्दा बढीको पिसिआर विधिबाट नमूना परीक्षण भइसकेको छ । अहिले ९ हजार २०३ जनाको आइसोलेसनमा उपचार भइहेको छ भने देशभर ३१ हजार ५७३ जना क्वारेन्टाइन रहेको मन्त्रालयले जानकारी दिएको छ ।