• काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या मुलुकभर मंगलबारसम्म १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको हो ।

    प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट ५१ पुरूष र ९ महिला गरी थप ६० जना डिस्चार्ज भएका छन् । यीसहित मुलुकभर हालसम्म कुल ३ हजार १ सय ९४ जना निको भएका छन् । कुल संक्रमितमध्ये २९ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७११ वटा नमुनाको पीसीआरबाट र २ हजार १४२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । हालसम्म देशभर कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

    अहिले १० हजार ३४१ जना आइसोलेसनमा र ५३ हजार ७० जना क्वारन्टीनमा रहेको मन्त्रालयले बताएको छ ।