• काठमाडौं । शुक्रबार थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमा ४८६ पुरुष र १०७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार बिहीबार थप एक जनाको मृत्यु भएको छ । दाङमा अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई जाँच पछि मृतक घोषणा गरिएको र स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो । मृत्यु हुनेको नाम र ठेगाना खुलेको छैन । यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

    त्यसैगरी विगत २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमा ४० पुरूष र ८ जना महिला रहेका छन् । यीसहित शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । मुलुकभर रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ जनाको नमूना परीक्षण भएको छ । हाल ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ भने मुलुकभर क्वारेन्टाइनमा ७१ हजार १२ जना बसिरहेको मन्त्रालयले जनाएको छ ।