• काठमाडौं । बुधबारमात्रै नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । जसमा ५१९ पुरुष र ११० जना महिला रहेका छन् । योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये २४ जनाको यसअघि नै मृत्यु भएको छ ।

    प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ११४ जना निको भएर डिस्चार्ज भएका छन् । जसमा पुरुष १०६ र महिला ८ जना रहेका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ३३८ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ६ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म मुलुकभर पिसिआर विधिबाट १ लाख ९३ हजार १ सय ९४ जनाको परीक्षण भएको छ ।

    उक्त पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले हाल आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको बताएका छन् । हाल क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना बसी रहेको पनि उनले जानकारी दिएका छन् ।