• काठमाडौँ । नेपालमा थप २५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिवार २५० जनामा संक्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमित भएकामध्ये पुरुष २३० र महिला २० जना रहेको प्रवक्ता गौतमले बताए । यीसँगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

    मन्त्रालयका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट बिहीबार मात्र १८७ जना उपचारपछि निको भएका छन् । कोरोना जित्नेको संख्या अब ८ सय ६१ पुगेको छ भने कोरोनाकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।

    पछिल्लो २४ घण्टामा ५ हजार २६३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआरबाट एक लाख १५ हजार ९ सय ३० र आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमुना परीक्षण गरिएको छ ।

    त्यसैगरी अहिले ३ हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको र क्वारेन्टिनमा एक लाख ६२ हजार २ सय १३ जना रहेको मन्त्रालयले बताएको छ ।