• काठमाडौँ । नेपालमा शुक्रबार दिउँसो थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको हो । यसअघि आजै बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणका क्रममा थप २० जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

    उनका अनुसार संक्रमित हुनेमा बाँकेका १४ जना, कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना र मोरङका १ जना रहेका छन् । संक्रमितहरु सबै १९ देखि ६१ वर्ष समूहका छन् ।

    त्यसैगरी हालसम्म यो भाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन् । तीन जनाको भने मृत्यु भइसकेको छ ।

    मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु गरिएका छन् । आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् ।