• काठमाडौँ । नेपालमा बिहीबार साँझ थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४ सय ५७ पुगेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी अनुसार बिहीबार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बाँकेका २ र कपिलवस्तुका एक जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोना पुष्टि हुनेमा बाँके नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा–३ की ४२ वर्षीया महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुष छन् । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुग्दा तीन जनाको मृत्यु भइसकेको छ भने ४९ जना कोरोना जितेर घर फर्किएका छन् ।