• काठमाडौँ । नेपालमा आईतबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २९५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरूष छन् । उनीहरूको स्वास्थ्यअवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक सिन्धुपाल्चोककी एक महिला हुन् भने अर्का बाँकेको नरैनापुरका युवक हुन् । संक्रमितमध्ये ३६ जना भने कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।