• काठमाडौँ । शुक्रबार नै थप ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । यसअघि शुक्रबार बिहान ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको बताइएको छ । संक्रमित हुनेमा पर्सा विरगञ्जका ९ र १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा- ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुष छन् । यसैगरी काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना संक्रमण देखिएको हो ।

    यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको बताएका थिए । आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।उनका अनुसार संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै गएको छ ।