• सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिएका छन् । उनका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पिसिआर मेसिन जडान गरेको थियो ।

    अस्पताल निर्देशक डा रावलले भने, “किट त अहिले काठमाडौँमा पनि अभाव छ । यद्यपि प्रतिष्ठानका लागि आजसम्म आइपुग्ने भन्ने छ ।” उक्त मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उहाँले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने जनाएका छन् । उनका अनुसार पिसिआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्नेछ ।

    प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्व उपकूलपति डा पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए । रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले २७ लाखमा पिसिआर मेसिन खरिद गरेको बताए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुुरुमा आरडिटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पिसिआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ ।