• काठमाडौँ । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

    उनका अनुसार ती तीनै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । उनीहरु पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुष हुन् ।

    आज थप तीन जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ४१ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।