

-
काठमाडौँ । दुई दिनदेखि कैलाली भजनीकी शोभादेवी चौधरी थानकोटस्थित त्रिभुवन उद्यानमा थन्किएकी छिन् । उनको मन उकुसमुकुस भएको छ । चौधरीको मन भतभती पोलिरहेको छ । उनकी छोरी घरमा सिकिस्त बिरामी छिन् । त्यसैले उनलाई घर नपुगी भएको छैन । पाँच महिनादेखि चौधरी काठमाडौँमा ज्यामी काम गर्दै आएकी थिइन् ।
शनिबार राति छोरी बिरामी भइन्, के गर्ने भनेर उनलाई घरबाट फोन आएको थियो । उनका श्रीमान् पनि यतै छन् । “घरमा सासूससुरा मात्रै हुनुहुन्छ”, आइतबार थानकोट उद्यानमा भेटिएकी चौधरीले भनिन्, “घर पुग्नै पर्ने भएको छ, छोरीलाई अस्पताल लैजान सक्ने घरमा कोही हुनुहुन्न ।” काठमाडौँको टोखास्थित घर निर्माणको काम गर्दै आएको चौधरीसहितको १२ जनाको समूह पैदल नै घर फर्कन निस्केको थियो । थानकोट पुगेपछि उनीहरुले घर फर्कनेका लागि बसको व्यवस्था गरेको छ भन्ने जानकारी पाए । उनीहरु उद्यानको प्रवेशद्वारमा खटिएको प्रहरीलाई आ–आफ्नो नाम टिपाएर भित्र प्रवेश गरे ।
“ठेकेदारले अहिले ज्याला दिन सकिँदैन भनेको छ, हामीसित भएको पैसो सकियो”, कैलाली भजनीकै गीता डगौराले भनिन्, “पैदलै भए पनि घर फर्कन्छौँ ।” उनी तीन वर्षको छोरीसहित पैदल नै घर जान निस्किएकी हुन् । भजनीको चौधरी र डगौराको समूह दैनिक रु ६०० ज्यालादारीमा काम गर्दैआएको थियो । “भएको पैसो पहिल्यै घर पठायौँ, अहिले यस्तो अवस्था आउला भन्ने थाहै भएन”, डगौरा समूहकी सपनाले भनिन् ।
बाग्लुङको काठेखोला धम्जाका ढकबहादुर श्रीष ११ वर्षीय छोरोसहित नागढुङ्गातर्फ जान खोज्दै थिए । काठमाडौँमा मजदुरी गर्दै आएका उनलाई बसमा जान पाउने विश्वासै लागेन । उनको पैदल नै घर फर्कने इच्छा थियो । त्यहाँ तैनाथ सुरक्षाकर्मीले भने दिएनन् । बाबु–छोरालाई प्रहरीले थानकोट उद्यानभित्र पठायो । महानगरीय प्रहरी वृत्तका अनुसार आइतबार साँझसम्म थानकोट उद्यानभित्र झण्डै ३०० जनालाई प्रवेश गराइएको छ । घर जान हिँडेका उनीहरु उद्यानमै थन्किएका छन् । यसरी थन्किनेमा महिला तथा बालबालिकासमेत छन् । उनीहरुलाई प्रहरीले रोकेर राखेको छ ।
पैदल नै घर फर्कनेहरुलाई प्रहरीले कलङ्की–थानकोट सडकखण्डमा ठाउँठाउँमा रोक्ने गरेको छ । यसरी पैदल घर फर्कनेहरु कतिपय त्रिभुवन उद्यानमा प्रहरीलाई नाम ठेगाना टिपाएर भित्र पसिरहेका छन् । दुई दिनदेखि यो क्रम जारी छ । उद्यानभित्र थन्किएकाहरु बस चढेर घर फर्कन पाउने नपाउने टुङ्गो भने छैन । शनिबार राति सात वटा बसमा अलपत्र परेकाहरुलाई घर पठाइएको थियो । काठमाडौँमा डेरा गरी बस्नेहरु पनि घरबेटीले घर भाडा मागे भनेर बहाना बनाउँदै थानकोट आउन थालेका छन् ।
पैदल नै घर फर्किरहेका झण्डै ३०० लाई सांसद अञ्जना विशङ्खे र वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरले उद्धार गरी बसमा घर पठाएका थिए । यसरी पठाएको खबर फैलिएपछि अहिले बस चढेर जान चाहनेहरुको कलङ्की–थानकोट सडकभरि लर्को लाग्न थालेको छ । काठमाडौँमा डेरा गरी बस्नेहरु झिटिगुन्टा बोकी थानकोट उद्यानमा आउन थालेका छन् । उनीहरुलाई घर पठाउन हम्मेहम्मे परेपछि आइतबारदेखि बस चढाउने काम बन्द गरिएको छ ।
“काठमाडौँ बाहिरका टाढादेखि पैदल हिँडेर आएका अलपत्र परेकालाई उद्धार गर्न खोजेका हौँ, अहिले त यहीँ वरपर डेरा गरी बस्ने सबै आउन थालेका छन्”, थानकोट उद्यानभित्र भेटिएकी सांसद विशङ्खेले भनिन्, “अब यहीँ उद्यानभित्र क्वारेन्टाइनमा राख्छौँ, घर पठाउन सकिँदैन ।” यहीँ वरपर बस्नेलाई डेरामै फर्काउन थालिएको उनले बताइन् ।
उद्यानभित्र सबैको स्वास्थ्य परीक्षण गरी राख्ने गरिएको छ । चन्द्रागिरि नगरपालिका, बलम्बुले त्यहाँ स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । त्यहाँ खाने बस्नेसमेत व्यवस्था मिलाइएको छ । “उद्यानभित्र आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने गरेका छौँ”, स्वास्थ्य परीक्षणमा संलग्न नर्स कल्पना पाण्डेयले भनिन्, “ज्वरो आए नआएको जाँच्ने हो, अहिलेसम्म कसैलाई पनि त्यस्तो समस्या देखिएन ।” आइतबार साँझसम्म २६८ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिइन् ।
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



