• काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ८ र ९ गतेको निर्णयअनुसार विभिन्न तहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

    मन्त्रालयले सार्वजनिक गरेको सरुवा विवरणअनुसार उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा प्राविधिक कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला समन्वय समिति र स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाइएको छ।

    मंसिर ९ गतेको निर्णयबाट प्रमुख प्रशासकीय अधिकृतदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरिएको छ। यस क्रममा धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मालाई नापी विभाग काठमाडौंमा प्रस्ताव गरिएको छ। गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पन्तलाई जिल्ला समन्वय समिति बैतडीमा सरुवा गर्ने निर्णय भएको छ।

    त्यस्तै, नापी विभागका उपसचिव परमानन्द घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तथा रेसुङ्गा नगरपालिका गुल्मीमा कामकाज गर्ने गरी व्यवस्था मिलाइएको छ।

    मन्त्रालयको निर्णयमा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई संघीय मन्त्रालय तथा अन्य निकायमा र संघीय निकायमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा पठाउने व्यवस्था पनि गरिएको छ।

    अर्थ मन्त्रालयमा कार्यरत बालकृष्ण हुमागाईंलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कामकाजमा खटाइएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गर्ने निर्णय भएको छ।