• भारतको मुख्य विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ ले निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नयाँ दिल्लीमा विशाल विरोध प्रदर्शन गरेको छ ।

    ‘चलो दिल्ली’ अभियानअन्तर्गत रामलीला मैदानमा आयोजित सभामा १०औँ हजार नागरिकको सहभागिता थियो ।

    सभालाई सम्बोधन गर्दै कंग्रेस नेता राहुल गान्धीले चुनावमा धाँधली र अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त जेल जाने दाबी गर्नुभयो ।

    भोट बचाओ, देश बचाओ नाराका साथ आयोजना गरिएको प्रदर्शनमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलगायत शीर्ष नेताहरूको उपस्थिति थियो ।

    गएको वर्ष बिहारसहित विभिन्न राज्यमा लागू गरिएको ’विशेष गहन पुनरावलोकन’ का क्रममा झन्डै १३ करोड मतदाताको नाम हटाइएपछि विपक्षीहरू रुष्ट बनेका हुन् । आयोगले दोहोरिएका र मृतकका नाम हटाइएको दाबी गरे पनि विपक्षीहरूले भने अल्पसङ्ख्यक र भारतीय जनता पार्टी ९भाजपा० इतरका मतदातालाई लक्षित गरिएको आरोप लगाएका छन् ।

    भर्खरै दुई निर्वाचन आयुक्तले मुख्य आयुक्तका निर्णयमा असन्तुष्टि जनाएको प्रतिवेदन सार्वजनिक भएपछि यो विवाद झनै उग्र बनेको छ ।

    प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै सरकारले दिल्लीमा १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ ।