• काठमाडौं : नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिएको हो।

    नेपाल आयल निगमले यसअघि चैत(वैशाखमा पेट्रोलको मूल्य बढाएर प्रतिलिटर २१९ रुपैयाँसम्म पुर्‍याएको थियो। त्यसपछि करिब दुई महिना २०० रुपैयाँभन्दा तल झरेको पेट्रोलको मूल्य भदौदेखि भने प्रतिलिटर २०० रुपैयाँमा स्थिर छ।

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ। तर, इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीमार्फत मूल्य समायोजन गर्न नसकिएको नेपाल आयल निगमले जनाएको छ।

    अमेरिका र इरानबीचको तनाव केही साम्य भएपछि अगस्टको पहिलो साता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ८० अमेरिकी डलरसम्म झरेको थियो। तर, दुई देशबीचको वार्ता असफल हुनुका साथै तेल कारोबारका लागि महत्वपूर्ण होर्मुज जलमार्गमा अवरोध सिर्जना भएपछि कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ।

    अहिले ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ११५ अमेरिकी डलर पुगेको छ। एक ब्यारेल कच्चा तेलमा करिब १६९ लिटर तेल हुन्छ। त्यसलाई प्रशोधन गर्दा करिब ७० लिटर पेट्रोल, ४५ लिटर डिजेल, १५ लिटर हवाई इन्धन र ५ लिटर एलपीजी ग्यासलगायत बिटुमिन, लुब्रिकेन्ट तथा अन्य पेट्रोलियम पदार्थ उत्पादन हुन्छन्।

    त्यसैले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पेट्रोल, डिजेल, हवाई इन्धनलगायतका पेट्रोलियम पदार्थको मूल्यमा पनि दबाब पर्छ।

    नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेका कारण नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यभन्दा कममा पेट्रोलियम पदार्थ बिक्री गर्दा हुने घाटा पूर्ति गर्न निगमले मुख्यतः मूल्य स्थिरीकरण कोष र आफ्नो सञ्चित नाफाको प्रयोग गर्दै आएको छ।

    तर, अब भने मूल्य स्थिर राख्न थप चुनौती देखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन्। ठाकुरका अनुसार निगमले हालसम्म कुनै ऋण लिएको छैन र इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यलाई व्यवस्थापन गर्दै आएको छ। यसअघि रहेको १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित मुनाफासमेत खर्च भइसकेको उनले बताएका छन्।

    ठाकुरले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण आगामी अक्टोबर ३० तारिखमा प्राप्त हुने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन सम्बन्धी ठोस निर्णय लिइनेछ।’

    निगमका अनुसार अहिले मूल्य यथावत राख्दै जाने हो भने इन्डियन आयल कर्पोरेसनलाई समयमै भुक्तानी पठाउनसमेत चुनौती थपिन सक्छ। यद्यपि, करिब ४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोषमा बाँकी रहेकाले आवश्यकता अनुसार केही समय व्यवस्थापन गर्न सकिने निगमले जनाएको छ।

    आयल निगम कति घाटामा बेच्दैछ ?
    इन्डियन आयल कर्पोरेसनसँगको सम्झौताअनुसार नेपाल आयल निगमले प्रत्येक १५ दिनमा नयाँ खरिद मूल्य प्राप्त गर्छ। सामान्य अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा त्यसैअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्छ।

    तर, भदौ १ गतेदेखि पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ तोकिएको छ। त्यसयता एउटै मूल्यमा यी दुवै पदार्थ बिक्री हुँदै आएका छन्। भदौ १ देखि १५ गतेसम्म निगमलाई करिब ८१ करोड रुपैयाँ घाटा भएको थियो। भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै निगमले त्यसबेला मूल्य समायोजन गरेको थियो।

    भदौ १५ देखि ३० गतेसम्म निगमको घाटा बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको थियो। असोज लागेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेपछि निगमको घाटा अझै चुलिएको छ। निगमका अनुसार असोज १४ देखि २९ गतेसम्म मात्रै ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा भएको थियो।

    असोज २९ गते नयाँ खरिद मूल्य प्राप्त भएपछि पनि चाडपर्वलाई मध्यनजर गर्दै निगमले साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको छ।

    हाल काठमाडौंमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ छ। यही मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमै करिब ३ अर्ब ४५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

    २०२७ मा मात्रै मूल्य घट्ने अनुमान
    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तत्कालै घट्ने सम्भावना कम देखिएको छ। अमेरिकी ऊर्जा सूचना प्रशासन ९भ्क्ष्ब्० को प्रक्षेपणअनुसार २०२७ लागेपछि मात्रै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आउन सक्ने अनुमान गरिएको छ।

    हाल प्रतिब्यारेल करिब ११४ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य डिसेम्बरसम्म १०५ डलर आसपासमा झर्न सक्ने अनुमान छ। २०२७ को अन्त्यसम्म भने यो मूल्य प्रतिब्यारेल करिब ७४ डलरसम्म झर्न सक्ने प्रक्षेपण गरिएको छ।

    कच्चा तेलको मूल्य घटेमा पेट्रोलियम पदार्थको मूल्यमा पनि उल्लेख्य कमी आउन सक्छ। तर, यो अनुमान मध्यपूर्वको युद्ध र विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोध कति समयसम्म रहन्छ भन्ने विषयमा निर्भर हुनेछ।

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भने कच्चा तेलको मूल्य अझै बढ्न सक्ने चेतावनी दिएको छ। मध्यपूर्वको युद्धका कारण होर्मुज जलमार्गबाट तेल बोकेका जहाजको आवागमनमा अवरोध भएमा विश्व बजारमा तेलको आपूर्ति घट्ने, ढुवानी तथा बीमा लागत बढ्ने र त्यसले कच्चा तेलको मूल्यमा थप दबाब सिर्जना गर्नेछ।

    एजेन्सीका अनुसार युद्ध सुरु हुनुअघिको तुलनामा विश्व बजारमा तेलको भण्डारणसमेत घट्दै गएको छ। युद्ध साम्य भएर कच्चा तेलको मूल्य घटे पनि नेपालमा पेट्रोल र डिजेलको मूल्य तत्कालै घटिहाल्ने अवस्था नहुन सक्छ। उत्पादन तथा प्रशोधन लागत, ढुवानी खर्च र आपूर्ति प्रणालीमा देखिने समस्याका कारण २०२७ सम्म पनि पेट्रोलियम पदार्थको मूल्य उच्च रहन सक्ने देखिन्छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाने, निगमको सञ्चित नाफा सकिँदै जाने र मूल्य स्थिरीकरण कोषमा सीमित रकम मात्रै बाँकी रहेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य लामो समयसम्म २०० रुपैयाँमा स्थिर राख्न निगमलाई कठिन हुँदै गएको छ। अब अक्टोबर ३० मा प्राप्त हुने नयाँ खरिद मूल्य नेपालको पेट्रोल र डिजेलको आगामी मूल्य निर्धारणका लागि निर्णायक बन्नेछ।