• मुस्ताङ ।

    चीनसँगको उत्तरी सीमा नाका कोरला हुँदै नेपाल भित्रिएका मालवाहक गाडी जाँचपासमा समस्या देखिएको छ। कोरला नाकामा रहेको मुस्ताङ भन्सार कार्यालयमा इन्टरनेट सेवा प्रभावकारी नहुँदा भन्सारको नियमित काम प्रभावित भएको हो।
    भन्सार क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध छैन। मोबाइल नेटवर्कसमेत घाम लागेको समयमा दिउँसो केहीबेर मात्र चल्ने गरेको बताइएको छ। मोबाइल डाटाबाट कहिलेकाहीँ प्रणाली सञ्चालन भए पनि भरपर्दो रूपमा काम हुन नसकेको भन्सारका कर्मचारीको भनाइ छ।


    सञ्चार तथा इन्टरनेट सेवामा देखिएको समस्याका कारण भन्सारको अनलाइन प्रणालीबाट गर्नुपर्ने काम प्रभावित हुँदा सामान जाँचपासमा ढिलाइ भएको छ। अहिले पनि पाँच सयभन्दा बढी मालवाहक गाडी जाँचपासको पर्खाइमा रहेको बताइएको छ।


    यसबीच रसुवागढी नाका बाढीका कारण क्षतिग्रस्त छ भने तातोपानी नाकाको कारोबार पनि रोकिएको छ। चीनबाट काठमाडौंसम्मको सबैभन्दा छोटो मार्ग मानिने तातोपानी नाकाको सडकतर्फको बाटो सञ्चालनयोग्य भए पनि कारोबार रोकिँदा आयात–निर्यात प्रभावित भएको छ।
    रसुवागढी नाका तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना कम देखिएका बेला तातोपानी नाकासमेत बन्द हुँदा चीनबाट दशैंका लागि ल्याइएका सामान वैकल्पिक नाकामा थुप्रिएका छन्।


    दशैं नजिकिँदै गर्दा व्यापारिक प्रयोजनका सामान समयमै नेपाल भित्र्याउनुपर्ने अवस्थामा कोरला नाकामा जाँचपासको गति सुस्त हुँदा व्यवसायी थप समस्यामा परेका छन्। लामो समयदेखि गाडी र सामान रोकिँदा ढुवानी लागतसमेत बढ्ने जोखिम देखिएको छ।
    नेपाल–चीन व्यापारका लागि अहिले कोरला नाका महत्वपूर्ण वैकल्पिक मार्ग बनेको अवस्थामा भन्सारमै सञ्चार र प्रणाली सञ्चालनमा समस्या देखिएपछि आयातकर्ताले शीघ्र समाधानको माग गरेका छन्।