• काठमाडौं : नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटमा रहेको जलमापन केन्द्रमा अभिलेख राख्न थालेयताकै अहिलेसम्मको उच्च जलसतह मापन भएको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ बजेर १० मिनेटमा नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ ७ दशमलव ३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ बजेर ४० मिनेटमा नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

    नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीले पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने बताए ।

    कार्यालयका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।