•        

    काठमाडौँ ।

    जेन्जी आन्दोलनले देशको राजनीतिक वातावरण नै बदलिदियो । सडकमा युवाको आक्रोश देखियो, सत्ताको शैलीमाथि प्रश्न उठ्यो र परम्परागत राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टि सतहमा आयो । यही उथलपुथलका बेला नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने सार्वजनिक राजनीतिक सक्रियताबाट टाढा देखिए । बिदेश बसे । सम्पर्कविहीन जस्तै भए । सत्ता र राजनीतिमा लामो समय निर्णायक भूमिका खेलेका देउवा संकटको घडीमा अगाडि आएर नेतृत्व गर्नेभन्दा केही समय मौन बस्न रुचाए ।
    तर, राजनीति लामो समय खाली ठाउँमा बस्दैन । आन्दोलनको तातो सेलाउँदै जाँदा देउवा फेरि सक्रिय हुन थालेका छन्। त्यसैले अहिले राजनीतिक वृत्तमा एउटा व्यंग्यात्मक प्रश्न उठ्न थालेको छ, ‘भागेका शेरबहादुर जागे ?’

    देउवा नेपाली राजनीतिमा प्रधानमन्त्रीका रूपमा पटक–पटक देशको नेतृत्व गरिसकेका व्यक्ति हुन् । राष्ट्रिय राजनीतिमै प्रभावशाली नेता हुन् । यस्तो नेता राजनीतिक संकटका बेला मौन बस्दा त्यसको अर्थ सामान्य मौनता मात्र हुँदैन । जनताले त्यसलाई नेतृत्वको परीक्षा र जिम्मेवारीसँग जोडेर हेर्छन् ।
    जेन्जी आन्दोलनले विशेषगरी पुरानो राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको थियो । युवापुस्ताले केवल सरकार परिवर्तन होइन, शासन शैली, जवाफदेहिता, अवसर, भ्रष्टाचार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न गरेको थियो । यस्तो अवस्थामा पुराना दलका शीर्ष नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने थियो । कांग्रेसका नेता देउवाबाट पनि त्यही अपेक्षा थियो ।

    तर संकटका बेला नेतृत्वको आवाज कमजोर भयो भने त्यसले राजनीतिक विश्वासमा असर गर्छ । जनताले नेताको मूल्याङ्कन चुनावका बेला मात्र गर्दैनन्, संकटको समयमा उनी कहाँ उभिए भन्ने कुराले पनि नेताको राजनीतिक हैसियत निर्धारण गर्छ ।
    अहिले देउवा फेरि जागेका छन् । भेटघाट बढेका छन्, राजनीतिक संवाद सक्रिय भएको छ र कांग्रेसभित्र आफ्नो प्रभाव कायम राख्ने प्रयासमा देखिन थालेको छन् । तर यो जागरण जनताको आवाज सुन्नका लागि हो कि फेरि पुरानै शक्ति समीकरणमा आफ्नो स्थान सुरक्षित गर्नका लागि ?

    देउवाको राजनीतिक शैलीलाई हेर्दा उनी हतारमा निर्णय गर्नेभन्दा समय र परिस्थितिको मूल्याङ्कन गरेर चाल चाल्ने नेता मानिन्छन् । त्यसैले आन्दोलनको समयमा मौन बसेर अहिले सक्रिय हुनु पनि रणनीतिक हुन सक्छ । तर राजनीतिमा रणनीति मात्र पर्याप्त हुँदैन; जनताले नेतृत्वमा उपस्थिति, साहस र जवाफदेहिता पनि खोज्छन् ।

    कांग्रेसका लागि पनि देउवाको पुनःसक्रियता दोधारे तरबार हो । एकातिर उनको अनुभव, संगठनमाथिको पकड र राजनीतिक सम्पर्क पार्टीका लागि उपयोगी हुन सक्छ । अर्कोतिर नयाँ पुस्ताले पुरानो नेतृत्वबाट मुक्ति खोजिरहेका बेला पुरानै शैलीमा फर्किन खोज्दा कांग्रेस थप आलोचनाको केन्द्र बन्न सक्छ ।
    अब देउवाले आफू जागेको प्रमाण भाषणबाट होइन, व्यवहारबाट दिनुपर्नेछ । आन्दोलनले उठाएका प्रश्नलाई बेवास्ता गरेर पुरानै सत्ता गणितमा फर्किने हो भने उनको जागरण केवल राजनीतिक सक्रियता हुनेछ, नेतृत्वको पुनर्जागरण होइन ।

    जेन्जी आन्दोलनपछि गगन थापा पक्षले बिशेष महाधिवेशन गरेर नयाँ नेतृत्व तय गरेर एउटा सन्देश स्पष्ट दिएको छ । जनता अब नेता कति पटक प्रधानमन्त्री भए भन्नेभन्दा संकटमा नेता जनताको पक्षमा कति दृढतापूर्वक उभिए भन्ने हेर्न थालेका छन् ।

    त्यसैले शेरबहादुर देउवा साँच्चै जागेका हुन् भने अब पहिलो काम आफ्नो राजनीतिक घडी हेर्नु होइन, देशको राजनीतिक घडी बुझ्नु हो । आन्दोलनपछि फेरि सक्रिय हुनु मात्र पर्याप्त छैन, आन्दोलनले उठाएका प्रश्नको जवाफ दिने राजनीतिक साहस पनि देखाउनुपर्छ । नत्र इतिहासले यति मात्र लेख्नेछ, ‘आन्दोलनको बेला भागेका शेरबहादुर पछि जागे, तर जनताको भरोसा जागेन ।’