• काठमाडौं । बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया सुरु भएपछि राष्ट्रिय किताबखाना (निजामती) मा सेवाग्राहीको चाप बढेपछि विभागले सेवा डिजिटल प्रणालीमार्फत उपलब्ध गराउन थालेको छ ।

    राष्ट्रिय किताबखाना (निजामती) ले अब कर्मचारीहरूको तलबी विवरण अनलाइनमार्फतै उपलब्ध गराउने ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरु गरेको जनाएको छ । सेवाग्राहीको भीड व्यवस्थापन र सेवा सहज बनाउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको हो ।

    महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार कर्मचारीहरूको तलबी आम्दानीको निस्सा अब अनलाइनबाटै लिन सकिनेछ । किताबखानाको वेबसाइटमार्फत २०१७ सालदेखि हालसम्मको पद, तलब स्केल र ग्रेडसम्बन्धी पूर्ण विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।

    त्यसैगरी, ‘तलब र ग्रेड सिट’ शीर्षकमा आवश्यक विवरण राखिएको छ भने गणना क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ, जसबाट सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्नेछन् ।

    विभागले सेवाहरूलाई पूर्ण रूपमा ‘फेसलेस’ बनाउँदै अब कार्यालय धाएर कागजात लिनुपर्ने बाध्यता हटाइएको जनाएको छ ।

    कर्मचारीहरूले भौतिक रूपमा उपस्थित नभई दुईवटा डिजिटल विधिहरू प्रयोग गरेर आफ्नो तलवी विवरण प्राप्त गर्न सक्नेछन्–

    १. ह्वाट्सएप विधि

    सेवाग्राहीले ह्वाट्सएप नम्बर ९७१४४९९२४० मा आफ्नो नाम, दर्जा र संकेत नम्बर पठाएर विवरण माग गर्न सक्नेछन् । तर यसमा ध्यान दिनुपर्ने कुरा के छ भने प्राविधिक सीमाका कारण ह्वाट्सएपमा पठाइएको विवरण २४ घण्टाभित्रै आफैं मेटिन्छ । यदि २४ घण्टाभित्र रेस्पोन्स नआएमा पुन: विवरण पठाउन विभागले अनुरोध गरेको छ ।

    २. इमेल विधि

    सेवाग्राहीले [email protected] मा आफ्नो नाम, पद र संकेत नम्बर इमेल गरेर पनि आफ्नो विवरण प्राप्त गर्न सक्ने छन् । महानिर्देशक पोखरेलका अनुसार यो विधि थोरै झन्झटिलो जस्तो लागे दिगो, सुरक्षित र विश्वसनीय छ । यसमा डाटा सुरक्षित रहने हुनाले छिटो सेवा पाउन यो विधिको प्रयोग गर्न भनिएको छ ।

    प्राविधिक त्रुटि भएमा आफैँ गणना गर्न सकिने

    कामको चापका कारण र प्राविधिक कारणले कहिलेकाहीँ विवरणमा त्रुटि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले वैकल्पिक व्यवस्था समेत गरेको जनाएको छ । यदि कुनै प्राविधिक कारणले विवरण नमिलेमा सेवाग्राही स्वयम्ले वेबसाइटमा राखिएको ‘तलब र ग्रेड शिट’मा गएर पनि गणना गर्न सक्ने छन् ।

    विभागले प्रविधिको अधिकतम् उपयोग गरी सेवालाई झन्झटमुक्त बनाएको जनाएको ।  कार्यालयमा धाएर समय खर्च नगर्न सबै सम्बन्धित बहालवाला तथा निवृत्त कर्मचारीहरूमा अपिल गरेको छ ।