• काठमाडौं । राप्रपाका नेता धवलशमशेर राणाले राप्रपा छाडेका छन् । राप्रपा पार्टी छाडेसँगै उनले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौंको एक होटलमा छलफलमा जुटेका थिए ।

    छलफलपछि राणाले एक विज्ञप्ति जारी गरेका छन् । जहाँ उनले राप्रपाको आफ्नो पदबारे केही उल्लेख गरेका छैनन् ।

    उनले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

    साथै, यही नयाँ अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन् ।

    ‘देशलाई माया गर्ने, देशको समृद्धी चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु,’ राणाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास भए पनि त्यो सफल नभएको उनको स्वीकारोक्ति छ ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्‍यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो,’ राणाले भनेका छन्, ‘राप्रपामा आवद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्दछु ।’