• काठमाडौं : सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन सङ्गठनहरूको दर्ता खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर नेपालका सबै राष्ट्रियस्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो ।

    सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले आज ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो । विभागले निकालेको सूचनामा ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन खारेज गरेको उल्लेख छ ।

    खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन रहेका छन् ।

    यसैगरी खारेज हुनेहरूमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन रहेका छन् ।