• काठमाडौं : नेकपा (एमाले)ले देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताए ।

    निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाए । समाजमा अनेक बहानामा चुनाव सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्‍याएको छ ।