• काठमाठौं : पश्चिम क्षेत्रका हुम्ला, बैतडी, बागलुङलगायत केही जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा हिजो बेलुकादेखि नै हिमपात भएको हो । त्यस्तै बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । ती क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने भएकोले स्थानीय खुसी छन् । त्यस्तै काठमाडौंमा पनि पानी परेको छ । काठमाडौंमा फाटफुट पानी परेको छ भने बाक्लो बादलले ढाकेको छ ।

    यस्तै बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा ठूलो हिमपात भएको छ । गएरातिदेखि बाक्लो हिउँ परेको हो । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । तर चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।