• काठमाडौं : रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा दुई समुदायबीच विवादपछि जिल्ला प्रशासन कार्यालयले संयमता अपनाउन आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी अपिलमा राजनीतिक दलको सहभागितामा स्थानीय अगुवासँग छलफल गरी समस्याको समाधान गरिने उल्लेख छ ।

    मूर्ति सेलाउन गइरहेको टोली र फरक समुदायका केही नागरिकबीच शुरु भएको भनाभनाले हिजो झडपको रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिनुपरेको थियो ।

    घटनामा केही स्थानीय तथा सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । रामपुरखाप क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।