• काठमाडौं : नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक भोलि पार्टी कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगइ बाहिरनै बैठक राख्दै आएको छ ।

    निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिनुका साथै सर्वोच्च अदालतले पनि थापा नेतृत्वविरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिएपछि केन्द्रीय कार्यालयमा नयाँ कार्यसमितिको बैठक बस्न लागेको हो ।

    भोलि दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने तयारी रहेको प्रवक्ता चालिसेले बताए ।

    यसैबीच नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना निकालेका छन्।

    विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसक्दा पनि पौडेलले मुख्यसचिवका हैसियतमा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना निकालेपछि त्यसको विरोधसमेत भएको थियो ।