• काठमाडौं : एमालेको टिकट वितरणमा ओलीको कठोरता देखाका छन् । महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कठोर देखिएका हुन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ ।

    शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् । यसै क्रममा, ईश्वर पोखरेल, योगेश भट्टराई, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको निर्वाचन क्षेत्रका विषयमा निर्णय ओलीले जिम्मा आफैंले लिएका छन् । गोकर्ण विष्टले भने गुल्मी–२ बाट टिकट पाएका छन् । तर इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन क्षेत्रबाट सिफारिस भएका विनोद ढकाल पनि टिकट पाएनन् । ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो । उनले पनि महाधिवेशनमा इतर समूहबाट सचिवमा प्रतिस्पर्धा गरेर हार व्यहोरेका थिए ।

    महासचिवमा पराजित सुरेन्द्र पाण्डेलाई कुनै पनि निर्वाचन क्षेत्रबाट टिकट पाएनन् । यद्यपि उनको नाम कुनै पनि क्षेत्रबाट सिफारिस गरिएको थिएन । विगतमा उनी चितवन १ बाट चुनाव लड्दै आएका थिए ।

    नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि, उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।

    ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

    शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ । उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भए पनि रणनीतिक कारणले केही क्षेत्रमा उम्मेदवार घोषणा गर्न बाँकी राखिएको दाबी गरेका छन् ।

    यसैबीच एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका छन् ।

    अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् । बैठकमा नेता भट्टराईलाई समेत ताप्लेजुंगबाट टिकट नदिने भनेर अध्यक्ष ओलीले भनेका थिए । जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका राम्रो हुनसक्ने र यसअघि पनि राम्रो भूमिका निर्वाह गर्दागर्दै किन चुनाव लड्न नपाउने भनेर जवाफ माग गरेका थिए । ‘तर अध्यक्षले पोजेटिभ जवाफ दिनुभएन’, एक सचिवालय सदस्यले भने, ‘योगेशसहित ११ औँ महाधिवेशनमा अलग समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई कर्नर पार्ने प्रयास गरेको देखियो ।’