• काठमाडौं : रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता फेरी विफल भएको छ । नेताहरुका अनुसार सहमतिमा पुग्ने प्रयासमा भने जारी रहने छ ।

    निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन भएकोले कुलमानसँग आज पनि सहमतिको प्रयास गरिने वार्तामा सहभागी एक नेताले बताए।

    प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० सँग पनि कुलमान पक्षबीच एकता वार्ता भए पनि त्यसमा पनि खास प्रगति नभएको स्रोत बताउँछ । रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएको थियो । तर कुलमानसँगको छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।

    जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दिने भन्ने विषयमा कुरा नमिलेपछि उनीहरु छुट्टिएका थिए । कुलमानलाई मिल्नका लागि दबाब दिन केही जेनजी युवाहरु मध्यराति पनि कुलमानको घरसम्मै पुगेका थिए ।

    उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले पार्टीमा सहअध्यक्ष पाउनुपर्ने वा प्रधानमन्त्री आलोपालो हुनुपर्ने आफूहरुको मागमा रवि–बालेन तयार नभएकाले सहमति नजुटेको बताए । आइतबार रवि–बालेन एकतापछि अनलाइनखबरसँगको अन्तर्वार्तामा रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेले पनि कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि सहमति नजुटेको बताएका छन् ।

    आइतबार नै पोखराको जिल्ला भेलामा कुलमानले नयाँ दलहरु मिल्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

    यसैबीच सहमति नजुटेपछि उनले राति १ बजे फेसबुकमा स्टाटस लेखेर दुस्ख व्यक्त गरेका छन् । रवि–बालेन–कुलमान एकताका लागि हामी नेपालका संस्थापक सुदन गुरुङ लगायतले दबाब दिँदै आएका थिए । आइतबार मध्यरातिसम्मको छलफलमा उनी पनि सहभागी थिए ।