• काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार भएका छन् । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उनी नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् ।

    विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड रहेको छ । तर, यसमा नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको भन्दै असहमति व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमवार दिउँसोसम्मका लागि सारिएको छ । यसअघि हिजो सभापति देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमवारका लागि सारिएको जानकारी दिएका हुन्।

    महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिएको छ । तर सभापति देउवाले महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिएका छन् । निधि र सिटौलाको असहमति देखिएपछि थप गृहकार्य गर्न भन्दै कार्यवाहक सभापति खड्काले आजका लागि तय केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि सारेका हुन्।

    कांग्रेसले भोलिको बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिलाई अनुरोध गरेको छ ।