• काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेलाई आग्रह गरेकी छिन्। हिजो एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग भएको भेटमा उनले चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि आग्रह गरेकी हुन् ।

    जवाफमा एमालेले चुनावी वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । वार्तामा सहभागी विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आफूहरुले चुनावको लागि सहज वातावरण नबनेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्। कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता लिन एमालेले आग्रह गरेको छ ।

    भेटमा एमाले नेताहरुले आफूहरुले चुनावको विरोध गरेको नभई सहज वातावरण चाहेको बताएका थिए । एमालेले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले पनि चुनावको वातावरणमा प्रश्न उठेको जनाएको थियो ।