• जापानको दक्षिणी शहर ओइटाको सागानोसेकी क्षेत्रमा अस्ति बेलुकी शुरू भएको ठूलो आगलागीले एक सय ७० भन्दा धेरै भवन जलेर नष्ट भएका छन् । आगलागीमा परी एक जनाको ज्यान गएको र एक महिला घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    आगो तीव्र हावाका कारण जंगल र नजिकैको निर्जन टापुसम्म फैलिएको छ । झन्डै सात वटा खेलमैदान बराबर क्षेत्र जलेको र मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । झन्डै तीन सय घरमा विजुली काटिएको छ ।

    प्रधानमन्त्री साने ताकाइचीले पीडितहरूप्रति संवेदना व्यक्त गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।